गृहपृष्ठ चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न डेस्क स्थापना
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न डेस्क स्थापना
काठमाडौं । विपद्का कारण उत्पन्न विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्तिमा उद्यमी–व्यवसायीले भोग्नुपरेको असहजतालाई सहज बनाउन नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ।
चेम्बरले जमलस्थित सचिवालयमा डेस्क स्थापना गरेको हो। पृथ्वी राजमार्गलगायत देशका महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध हुँदा उद्योगी तथा व्यवसायीलाई सामान ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या देखिएपछि सहजीकरण डेस्क स्थापना गरिएको चेम्बरले जनाएको छ।
डेस्कमार्फत राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीका क्रममा देखिन सक्ने समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ।
त्यस्तै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज रूपमा आवागमन गर्न आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ।
विपद्का कारण सडक तथा यातायात सञ्जाल प्रभावित हुँदा अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थामा थप समस्या आउन नदिन सम्बन्धित निकायसँग समन्वय गरी ढुवानी तथा आपूर्ति प्रणालीलाई सहज बनाउने उद्देश्यले डेस्क सञ्चालनमा ल्याइएको चेम्बरको भनाइ छ।
चेम्बरले विपद्को समयमा राहत तथा अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुन नदिन निजी क्षेत्र, सरकारी निकाय, सुरक्षा संयन्त्र तथा स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
प्रकाशित समय : १८:४५ बजे


















