गृहपृष्ठ विपद्को घडीमा नेरूडे मिर्मिरेको सहकार्य, दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार सहयोग
विपद्को घडीमा नेरूडे मिर्मिरेको सहकार्य, दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार सहयोग
काठमाडौं । भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, वरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त राहत रकम हस्तान्तरण गरेको हो।
विपद्मा परी ज्यान गुमाएकाहरूप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएका व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार सफल होस् भन्ने कामना गरेको छ।
राहत रकम हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू भुइँमान्छेको घर–घरमा पुगेर वित्तीय पहुँच विस्तारमा समर्पित हुने भएकाले संकटका बेला पनि समाज र समुदायसँगै उभिनुपर्ने बताए।
विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै राईले नेरूडे मिर्मिरे मानवीय हितका कार्यमा सदैव सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल नीतिलाई आत्मसात् गर्दै नेरूडे मिर्मिरेले कर्जा तथा बचतको वित्तीय कारोबारमा मात्र आफूलाई सीमित नराखेको बताए।
उनका अनुसार संस्थाले वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणका विभिन्न कार्यक्रमसमेत निरन्तर सञ्चालन गर्दै आएको छ।
आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी र बृहत्तर रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता पौडेलले व्यक्त गरे।
संस्थाका सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको तर्फबाट गरिएको सामूहिक योगदानबाट उक्त सहयोग रकम जुटाइएको हो।
विपद्को यस कठिन घडीमा भाइचारा, आत्मीयता, सहकार्य तथा मानवीय संवेदनाको भावनासहित सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने सन्देशसमेत संस्थाले दिएको छ।
प्रकाशित समय : १८:४३ बजे


















