गृहपृष्ठ विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी सरकारलाई साथ दिन्छौँ : कांग्रेस

विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी सरकारलाई साथ दिन्छौँ : कांग्रेस

विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी सरकारलाई साथ दिन्छौँ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद आङ्देम्बेले क्षणभरमै यति ठूलो क्षति नेपालले एकैपटक बेहोर्नुपरेको घटना यसअघि नभएको बताए । उनले अकल्पनीय विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।

उनले राष्ट्रिय विपद्को समयमा देशभित्र र बाहिर रहेका सबै नेपालीको तत्परता तथा अन्तर्राष्ट्रिय समुदायको एक्यबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

‘विपद् कुन बेला आउँछ थाहा हुँदैन रहेछ । नेपाली कांग्रेस पार्टीले यही सदनमा पनि पटक–पटक विपद् जुनसुकै बेला आउन सक्छ, त्यसका लागि पूर्वतयारीमा लागौँ भनेर ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छु,’ उनले भने ।

सांसद आङ्देम्बेले नेपाली कांग्रेसले सुरुदेखि नै विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै मिलेर सामना गर्नुपर्ने धारणा राख्दै आएको बताए । उनले विपद्को समयमा कांग्रेस सरकारको साथमा रहेको स्पष्ट पारे ।

बाढीको वितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्रीलाई भेटेर तत्काल गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको उनले बताए । कांग्रेसले तत्काल बैठक बसेर पार्टी पंक्तिलाई परिचालन गर्ने तथा सरकारको सत्प्रयासमा साथ र सहयोग गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापतिले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनले स्मरण गराए।

सांसद आङ्देम्बेले नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसले सुरुवातदेखि नै भनेको छ, विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी हामी भनेर सामना गर्नुपर्छ । हामी सरकारको साथमा छौँ । बाढीको वितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्रीज्यूलाई भेटेर तत्काल गर्नुपर्ने कामका सम्बन्धमा ध्यानाकर्षण गराएको थिएँ । नेपाली कांग्रेसले तत्कालै बैठक बसेर पार्टी पंक्तिलाई परिचालन गर्ने र सरकारको सत्प्रयासमा साथ–सहयोग गर्ने निर्णय गर्यो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापतिज्यूले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा विदितै छ । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।’

उनले विपद्को समयमा सबैको साझा कर्तव्य उद्धार, राहत र पुनःस्थापनामा जुट्नु रहेको बताए । कांग्रेस सरकारको साथमा रहेको र विपद्को पीडा भोगिरहेका परिवारसँगै रहेको उनको भनाइ थियो ।

तर सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन गर्नु नभएको उनले स्पष्ट पारे ।

‘विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने पनि होइन । राम्रो काम गर्छ, साथ–समर्थन छ । बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन र?’ उनले प्रश्न गर्दै भने ।

प्रलयकारी बाढी आएको एक साता बितिसक्दा पनि सबै कुरा ठीकठाक भइरहेको छ कि छैन भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

‘जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर छ । त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो । हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौँ,’ उनले भने ।

सांसद आङ्देम्बेले सरकार र सत्तारूढ दलका सांसदहरूलाई विपद्को समयमा प्रचारभन्दा नागरिकको जीवन बचाउने कामलाई प्राथमिकता दिन आग्रह गरे ।

‘यो प्रचार होइन, प्राण बचाउने समय हो । नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उनले सरकारलाई र सत्ताधिन साथिहरुलाई आग्रह गर्दै भने ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु