काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

840
shares

ai logo सारांश

  • नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए ।

“साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात हुनसक्छ”, उनले भने, “लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको तथा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।”

महर्जनले साताको सुरु र मध्यमा भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जानकारी दिए ।

पहाडी भू–भागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साताको अन्त्यमा भने पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुनसक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तराईका भू–भागमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन । साताको अन्त्यमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताए ।

उनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भू–भागमा थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । आगामी सातामा देशका विभिन्न भू–भागको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।