गृहपृष्ठ १.५ डिग्री लक्ष्य जोगाउन नयाँ रणनीति

१.५ डिग्री लक्ष्य जोगाउन नयाँ रणनीति

१.५ डिग्री लक्ष्य जोगाउन नयाँ रणनीति

विश्व तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि जाने सम्भावना बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घले तापक्रम वृद्धिलाई नियन्त्रण गर्दै केही समयपछि पुनः १.५ डिग्रीमा फर्काउने रणनीति बनाउन विश्वलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सम्भावित ‘ओभरसुट’ लाई छोटो र सीमित राख्दै तापक्रम घटाउने मार्ग तय गर्नुपर्नेमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत वर्ष नै १.५ डिग्रीको सीमा केही समयका लागि पार हुने सम्भावना स्वीकार गरेका थिए । सन् २०१५ को पेरिस सम्झौतामार्फत करिब २०० मुलुकले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । तर बढ्दो तापक्रमका कारण अब जलवायु नीतिले ओभरसुटपछिको अवस्थालाई समेत सम्बोधन गर्नुपर्ने युएनईपीको निष्कर्ष छ ।

प्रतिवेदनका सहलेखक तथा एक्सेटर विश्वविद्यालयका रिचर्ड बेट्सले विश्वले तातो हुँदै गएको परिस्थितिसँग जुध्नुपर्ने भए पनि तापक्रम वृद्धिलाई सीमित गर्न अझै धेरै गर्न सकिने बताएका छन । अर्की सहलेखक डेब्रा रोबट्र्सले जलवायु शासन प्रणालीलाई सम्भावित ओभरसुटअनुकूल पुनःव्यवस्थित गर्नुपर्ने बताएका छन ।

वैज्ञानिकहरूका अनुसार १.५ डिग्रीभन्दा माथिको तापक्रमले चरम मौसमका घटना बढाउनुका साथै हिमक्षेत्र पग्लिने र कोरल चट्टानमा क्षति पुग्नेजस्ता जोखिम बढाउँछ । सन् १८५०–१९०० को औसतको तुलनामा विश्व तापक्रम वृद्धि करिब १.४ डिग्री सेल्सियस पुगिसकेको छ र पछिल्ला तीन वर्ष रेकर्डकै सबैभन्दा तातो वर्ष बनेका छन् ।

युएनईपीकी कार्यकारी निर्देशक इन्गर एन्डरसनले १.५ डिग्री लक्ष्य अझै कायम रहेको बताउँदै तापक्रम सीमा पार भए पनि त्यसलाई पुनः घटाउने प्रयास जारी राख्नुपर्ने बताएका छन । महासचिव गुटेरेसले पनि यस शताब्दीको अन्त्यसम्ममा तापक्रमलाई पुनः १.५ डिग्रीभन्दा कममा ल्याउन सकिने बताएका छन ।

युएनईपीले उत्सर्जनमा तीव्र कटौतीसँगै वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाएर भण्डारण गर्ने प्रविधि आवश्यक हुने जनाएको छ । तर जलवायु अभियानकर्ताले प्रविधिमाथिको अत्यधिक निर्भरताको विरोध गर्दै तत्काल कोइला, तेल र ग्यासको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् । ग्रीनपिस इन्टरनेसनलका जास्पर इन्भेन्टरले ओभरसुटको सम्भावना १.५ डिग्री लक्ष्य त्याग्ने कारण बन्न नहुने बताएका छन।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु