गृहपृष्ठ बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

काठमाडौं । भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । अस्पताल व्यवस्थापन तथा कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेका हुन् ।

गत बुधबार आएको अकल्पनीय बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका कारण कतिपय स्थानमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने सयौँ परिवार प्रभावित भएका छन् ।

विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले व्यक्ति, संघसंस्था, निजी क्षेत्र, सरकारी निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गरेको छ ।

सरकारको उक्त आह्वानलाई आत्मसात् गर्दै अन्नपूर्ण न्युरो अस्पताल तथा अस्पतालमा कार्यरत कर्मचारीहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

अस्पतालले विपद्को कठिन समयमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यमा राज्यसँगै निजी क्षेत्र र सामाजिक संस्थाहरूको पनि महत्वपूर्ण भूमिका रहने जनाएको छ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षबाट सहकार्य र सहयोग आवश्यक रहेको अस्पतालको भनाइ छ ।

अन्नपूर्ण न्युरो अस्पतालको यो सहयोगले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु