गृहपृष्ठ ‘रसुवा बाढीमा सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, करिब पाँचसय सवारीमा क्षति’
‘रसुवा बाढीमा सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, करिब पाँचसय सवारीमा क्षति’
काठमाडौं । बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर वा गाडी सम्पर्कविहीन छन् ।
महासंघले विभिन्न कम्पनी, प्रालि, संघ तथा समितिबाट क्षतिको विवरण संकलन गरिरहेको भएपनि विपद्का कारण टेलिफोन तथा इन्टरनेट सम्पर्क प्रभावित भएकाले यकिन तथ्यांक प्राप्त हुन नसकेको जनाएको छ । गिरीका अनुसार आगामी दिनमा थप विवरण प्राप्त हुने क्रम जारी छ ।
उनका अनुसार रसुवागढी नाका आसपासमा रहेका कन्टेनरमा समेत ठूलो क्षति भएको छ । करिब ३०० कन्टेनर सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी महासंघले पाएको छ ।
तर भन्सार क्षेत्रमा रहेका, बाटोमा गुडिरहेका, पार्किङ गरिएका तथा सामान ओसारपसारका क्रममा रहेका सवारीसाधनसमेतलाई समेट्दा क्षतिको संख्या ५०० हाराहारी पुग्न सक्ने महासंघको अनुमान छ ।
प्रभावित स्थलबाटै नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘हालसम्मको प्रारम्भिक विवरणअनुसार १०० हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० टिपर सम्पर्कविहीन छन् । रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनरसमेत सम्पर्कविहीन रहेको जानकारी आएको छ । विपद्का कारण सम्पर्क स्थापित हुन नसकेकाले यकिन तथ्यांक आउन बाँकी छ, थप विवरण संकलन भइरहेको छ ।’
विपद्का कारण सवारीसाधनसँगै चालक, परिचालक, मजदुर र व्यवसायीसमेत सम्पर्कविहीन भएको गिरीले बताए । महासंघको प्रारम्भिक तथ्यांकअनुसार करिब ५०० चालक, परिचालक तथा सवारी व्यवसायसँग आबद्ध व्यक्ति सम्पर्कविहीन अवस्थामा रहेको उनको भनाइ छ ।
उनले भने, ‘हाम्रा मजदुर चालकहरू करिब–करिब हामीले हाम्रो तथ्यांकमा चाहिँ हेर्दाखेरि करिब ५०० को हाराहारीमा चालक मजदुरहरू, परिचालक र गाडीमा आबद्ध व्यवसायीहरू सम्पर्कविहीन अवस्थामा छन् ।’
रसुवा–नुवाकोट क्षेत्रमा बढी क्षति
गिरीका अनुसार रसुवागढी नाकाबाट त्रिशूली हुँदै बेत्रावती, त्रिशूली बजार र देवीघाटसम्मको क्षेत्रमा सवारीसाधनमा ठूलो क्षति पुगेको छ । विशेषगरी बेत्रावती, त्रिशूली र रसुवा नाकातर्फ नदी तथा खोलाको किनारमा रहेका सवारीसाधन बाढीको चपेटामा परेका छन् । देवीघाटभन्दा तल भने तुलनात्मक रूपमा कम क्षति भएको उनले बताए ।
‘रसुवा नाका जो छ, त्यहाँदेखिबाट बेत्रावती, त्रिशूली बजार र देवीघाटसम्मको क्षेत्रमा सवारीसाधनमा ठूलो क्षति पुगेको छ । देवीघाटभन्दा तल चाहिँ सवारी साधनहरूको थोरै मात्रामा क्षति भएको छ । त्योभन्दा माथि नै देवीघाट, त्रिशूली, बेत्रावती र रसुवा नाकाबाट जो खोलाको किनारमा भएका बाटोमा धेरै क्षति भएको हामीले देख्न सक्छौँ,’ गिरीले भने ।
रसुवागढी नाकामा चीनबाट सामान ल्याउने कन्टेनरको संख्या ठूलो रहेकाले त्यहाँ भएको क्षतिको वास्तविक विवरण संकलन गर्न समय लाग्ने उनको भनाइ छ । कन्टेनरसँगै त्यसका चालक, मजदुर तथा व्यवसायीको अवस्थासमेत यकिन हुन बाँकी रहेको उनले बताए ।
उद्धारलाई पहिलो प्राथमिकता, त्यसपछि सवारीको तथ्यांक
राज्यका विभिन्न निकायसँग महासंघले सवारीसाधनको विवरण संकलनका लागि समन्वय गरिरहेको जनाएको छ । नुवाकोटमा भएको सर्वदलीय बैठकमा समेत महासंघका प्रतिनिधिले सवारीसाधन, मजदुर र व्यवसायीको क्षतिको विवरण संकलन तथा खोजीलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
गिरीका अनुसार सीमा तथा विभिन्न स्थानमा रहेका ट्राफिक र प्रहरी चेकपोस्टबाट सवारी आवागमनको विवरण संकलन गर्ने प्रयास भइरहेको छ ।
तर राज्यको पहिलो प्राथमिकता सवारीसाधनभन्दा मानिसको उद्धार र राहत भएकाले सवारीसाधनको यकिन तथ्यांक संकलनमा केही समय लाग्ने उनले बताए ।
‘पहिलो प्राथमिकता उद्धार हो, त्यसपछि राहत र त्यसपछि सवारीसाधनको खोज तथा तथ्यांक संकलन हुन्छ,’ गिरीले भने ।
सडकमार्ग अझै जोखिमपूर्ण
बाढीपहिरोका कारण रसुवा–नुवाकोट सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भए पनि स्थानीय तह तथा सम्बन्धित निकायले जेसिबी र अन्य उपकरण प्रयोग गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइरहेका छन् ।
गिरीका अनुसार गल्छीबाट धादिङ हुँदै नुवाकोट पुग्ने क्रममा सडकका विभिन्न खण्डमा निकै कठिन अवस्था देखिएको छ । कतिपय स्थानमा साना तथा ढुवानीका सवारीसाधन चल्न सक्ने गरी अस्थायी र कच्ची बाटो सञ्चालन गरिएको छ ।
रसुवाको कालिकास्थानसम्म भने बस तथा ट्रकसहितका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताए । तर कालिकास्थानभन्दा माथि यातायात पूर्ण रूपमा प्रभावित छ ।
त्यस क्षेत्रमा फसेका यात्रु तथा स्थानीयलाई उद्धार गरी कालिकास्थानसम्म ल्याउने र त्यहाँबाट सूर्यगढी गाउँपालिकाको सीमासम्म पैदल पुर्याउने काम भइरहेको उनले बताए । त्यसपछि महासंघले सवारीसाधनको व्यवस्था गरी उनीहरूलाई काठमाडौं तथा विदुरसम्म पुर्याइरहेको छ ।
विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारी कमजोर
गिरीले विपद्का बेला उद्धार तथा राहतका लागि आवश्यक उपकरण, प्रविधि र दक्ष जनशक्तिको अभाव देखिएको भन्दै सरकारको विपद् पूर्वतयारीमाथि प्रश्न उठाएका छन् ।
उनका अनुसार कतिपय सुरुङमार्ग तथा जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत विपद्का कारण प्रभावित भएका छन् । दुर्गम क्षेत्रमा उद्धार उपकरण तथा प्रविधिको पहुँच नहुँदा फसेका व्यक्तिको यकिन अवस्था पत्ता लगाउनसमेत कठिन भइरहेको उनले बताए ।
‘विपद् आएपछि मात्रै तयारी गर्ने प्रवृत्तिका कारण मानवीय क्षति कम गर्न सकिने अवस्थामा पनि समस्या भइरहेको छ,’ गिरीले भने ।
उनले हेलिकोप्टरमार्फत सीमित उद्धार गर्नुभन्दा स्थानीयस्तरमै आवश्यक उपकरण र जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिए । विपद् प्रभावित क्षेत्रमा जेसिबी, स्काभेटरलगायतका उपकरणलाई तयारी अवस्थामा राख्न सके राहत तथा उद्धारमा सहज हुने उनको भनाइ छ ।
रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्गमा जोड
रसुवागढी नाका पूर्ण रूपमा प्रभावित भएपछि सरकारले तत्काल वैकल्पिक सडक तथा सम्पर्क मार्गलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउनुपर्ने गिरीले बताए ।
उनका अनुसार नुवाकोटतर्फबाट छहरे, ढुङ्गे, नौबिसे, लच्याङ हुँदै सूर्यगढी गाउँपालिका र कालिकास्थान जोड्ने मार्गलाई जेसिबी तथा स्काभेटर प्रयोग गरेर सञ्चालनयोग्य बनाइएको छ ।
वर्षा केही कम भएमा उक्त मार्गबाट राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन सकिने उनको भनाइ छ । उनले सडकमा जेसिबी तथा अन्य उपकरणलाई ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्नसमेत सरकारलाई आग्रह गरेका छन् ।
त्यस्तै, बाढीका कारण एकातर्फबाट अर्कोतर्फ जान नसक्ने अवस्था रहेका स्थानमा बेलिब्रिज, झोलुङ्गे पुललगायतका अस्थायी संरचना निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताए ।
राहतमा खाद्यान्नसँगै आवासको व्यवस्था आवश्यक
गिरीले बाढीपहिरोबाट घरबारविहीन भएका नागरिकलाई खाद्यान्न वितरण मात्र पर्याप्त नहुने बताएका छन् । प्रभावित नागरिकको गाँस, बास र कपासको व्यवस्थाको जिम्मेवारी राज्यले तत्काल लिनुपर्ने उनको भनाइ छ ।
‘घर बगेका मानिसलाई खाना मात्रै दिएर हुँदैन । उनीहरूलाई बस्ने व्यवस्था पनि राज्यले गर्नुपर्छ,’उनले भने ।
विशेषगरी परिवारका सदस्य गुमाएका तथा घरबारविहीन भएका परिवारलाई राज्यले विशेष प्राथमिकतामा राखेर संरक्षण गर्नुपर्ने उनले बताए ।
उद्धारमा यातायात व्यवसायीको सक्रियता
बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उद्धार तथा राहतमा सहयोग गरिरहेको गिरीले बताए ।
महासंघले प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउनुका साथै यात्रुलाई निःशुल्क बस सेवा समेत सञ्चालन गरिरहेको जनाएको छ ।
विदुर नगरपालिका, सूर्यगढी गाउँपालिका तथा नुवाकोटका विभिन्न क्षेत्रबाट यात्रुलाई काठमाडौंसम्म पुर्याउने काम भइरहेको गिरीले बताए ।
‘यो दुःखको घडीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सरकार र जनतासँगै छ,’ उनले भने ।
गिरीका अनुसार महासंघले क्षतिग्रस्त तथा सम्पर्कविहीन सवारीसाधनको विवरण संकलनलाई निरन्तरता दिइरहेको छ । सञ्चार सम्पर्क सहज हुँदै गएसँगै थप विवरण प्राप्त हुने र त्यसपछि क्षतिको वास्तविक अवस्था सार्वजनिक गर्न सकिने महासंघको अपेक्षा छ ।
प्रकाशित समय : १७:०३ बजे


















