गृहपृष्ठ एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
रुकुम पश्चिम । रुकुम पश्चिममा पछिल्लो केही वर्षयता आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।
निःशुल्क औषधिसहितको उपचार पाइने भएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १३ हजार ६३४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएकामा चारवर्षपछि गत आर्थिक वर्ष २०८२/८३ मा सेवा लिनेको संख्या दोब्बरले बृद्धि भइ २६ हजार ५०७ पुगेको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, ज्येष्ठ नागरिकको वृद्धि विकासमा सहयोग गर्ने औषधि तथा पोषिला खानेकुरा, पञ्चकर्मद्धारा विभिन्न समस्याको उपचारसहित ल्याब सेवा पाएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।
आयुर्वेद स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ५०७ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । उनका अनुसार ओपिडी सेवा आठ हजार ६५८ जनाले लिएका छन् । यसैगरी, पञ्चकर्म सेवाअन्तर्गत दुई हजार ५११, योग सेवाअन्तर्गत एक हजार ४०१ र ज्येष्ठ नागरिक सेवाअन्तर्गत तीन हजार ६४० जनाले सेवा लिएका छन् ।
त्यसैगरी नागरिक आरोग्य सेवामा पाँच हजार २२५, ल्याब सेवामा एक हजार १९, शल्य सेवामा २६६, स्तनपायी सेवामा ४१२, गाउँघर क्लिनिकमा एक हजार २०२ तथा अन्य सेवामा एक हजार ४९ सेवाग्राहीलाई सेवा प्रदान गरिएको प्रमुख खड्काले जानकारी दिए।
आयुर्वेद स्वास्थ्य सेवा निःशुल्क र भरपर्दो भएपछि आफूहरु सेवा लिन आउने गरेको त्रिवेणी गाउँपालिका–२ की ५४ वर्षीया देउमती ओली बताए । उनले भने, “केन्द्रमा निःशुल्क चेकजाँच हुन्छ, निःशुल्क औषधि पाइन्छ, आर्थिक रुपमा कमजोर हुनेलाई सजिलो हुने गरेको छ, यहाँ निःशुल्क सेवा लिन पाइएको छ, खुसी छौँ ।” केही वर्षयता देखि बिरामी हुँदा आयुर्वेद स्वास्थ्य केन्द्रमै उपचारका लागि आउने गरेको उनको भनाइ छ ।
केन्द्रले आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीअन्तर्गत पञ्चकर्म, योग, नागरिक आरोग्यलगायतका सेवा प्रवाह गरिरहेको छ । हाल केन्द्रले जिल्लाका ६ वटै स्थानीय तहबाट नागरिक आरोग्यको नाममा सेवा प्रवाह गरिरहेको छ । आयुर्वेदिक उपचार तथा जीवनशैलीसम्बन्धी सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको केन्द्रले जनाएको छ ।
प्रकाशित समय : १५:४१ बजे


















