काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एल निनोले बढायो खडेरीको जोखिम

1.45K
shares

मध्य अमेरिकामा एल निनोका कारण वर्षा घटेर गम्भीर खडेरी र खाद्य सङ्कटको जोखिम बढेपछि पनामा र एल साल्भाडोरले आपतकालीन सतर्कता घोषणा गरेका छन् । पानीको सतह घटेपछि पनामा नहरमा जहाज आवागमन प्रभावित भएको छ भने एल साल्भाडोरमा वर्षाको अभावले कृषि उत्पादनमा क्षति पुगेको छ ।

पनामा मङ्गलबार एल निनोका कारण आपतकालीन अवस्था घोषणा गर्ने होन्डुरस र एल साल्भाडोरपछिको तेस्रो मध्य अमेरिकी देश बनेको हो । पनामाका गृहमन्त्री डिनोस्का मोन्टाल्वोले घोषणाले एल निनोबाट आउन सक्ने जोखिम सामना गर्न आवश्यक तयारी गर्न सहज हुने बताए । गम्भीर खडेरीले कृषि उत्पादनमा क्षति पुर्‍याएपछि खाद्य अभाव र अनिकालको चिन्ता बढेको उनले बताए ।

यसैबीच, एल साल्भाडोरले प्रभावित समुदायको निगरानी तथा सहायता तीव्र पार्दै देशभर मौसमजन्य र कृषि खडेरीका लागि ‘रेड अलर्ट’ घोषणा गरेको छ । वर्षाको अभावले बाली नष्ट भएपछि सिँचाइ सुविधा नभएका ग्रामीण परिवारलाई कृषि मन्त्रालयले खाद्यान्न सहयोग उपलब्ध गराउने जनाएको छ ।

एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढ्ने मौसमी अवस्था हो । यसले हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याएर विभिन्न क्षेत्रमा असामान्य मौसम निम्त्याउँछ । मध्य अमेरिकामा यसको प्रभावसँगै होन्डुरसले आफ्नो करिब ८० प्रतिशत भूभागमा सतर्कता अपनाएको छ ।

एल साल्भाडोरका धेरै नगरपालिका होन्डुरस र निकारागुआका केही भागसमेत समेटिएको ‘सेन्ट्रल अमेरिकन ड्राई करिडोर’ मा पर्छन् । यस क्षेत्रमा खडेरीसँगै तापक्रमसमेत बढेको छ । पनामा, एल साल्भाडोर र होन्डुरसले जुन र जुलाईमा मासिक तापक्रमका कीर्तिमान तोडेका छन् भने एल साल्भाडोरमा अगस्टमा मात्रै १४ तापक्रम कीर्तिमान कायम भएका छन् ।

यसैगरी, पेरुले गत साता एल निनोबाट प्रभावित करिब एकतिहाइ सहरमा आपतकालीन अवस्था घोषणा गरेको थियो । तीव्र गर्मी र असामान्य वर्षाले कृषि तथा खाद्य उत्पादनमा क्षति पुर्‍याउन सक्ने भन्दै त्यहाँ पनि सतर्कता बढाइएको छ ।