गृहपृष्ठ ब्रिटिस गोर्खा सैनिकदेखि समाजसेवीसम्म चोङ्बाङको यात्रा
ब्रिटिस गोर्खा सैनिकदेखि समाजसेवीसम्म चोङ्बाङको यात्रा
सुनसरी । आमा नरमाया हुक्पा चोङ्बाङ (कुरुम्बाङ) र बुबा पासाहाङ हुक्पा चोङ्बाङका काइँला छोरा छन मोहन हुक्पा चोङ्बाङ । उनका बुबा ब्रिटिस गोर्खामा भर्ती भएपछि परिवार मलेसियामा बसेको थियो । त्यही क्रममा चोङ्बाङको जन्म २०१२ सालमा मलेसियाको कुलाङमा भएको थियो । जन्मिएको १८ महिनापछि तेह्रथुम घरमा नेपाल ल्याएका उनको बाल्यकाल गाउँमै बित्यो । त्यहीँ कक्षा ५ सम्मको अध्ययन पूरा गरे ।
बाल्यकालदेखि नै बुबाको लाहुरे जीवनबाट प्रभावित चोङ्बाङलाई गोर्खा सैनिक बन्ने प्रेरणा पनि घरबाटै मिल्यो । “सानो हुँदै बाबाले दौडाउने, शारीरिक अभ्यास गराउनुहुन्थ्यो । बाबा लाहुरे भएकै कारण उनकै प्रेरणाबाट म पनि लाहुरे बन्न सफल भएँ,” चोङ्बाङले विगत सम्झँदै भने । विद्यालयमा अध्ययन गर्दागर्दै उनका दाजुहरू पनि ब्रिटिस लाहुरे लागे । जेठा दाजु भारतीय गोर्खामा भर्ती भए भने दुई दाइ र भाइहरू पनि ब्रिटिस गोर्खामा भर्ती भए । कान्छा भाइ भने अहिले हङकङमा छन ।
आधुनिक सहरका रूपमा परिचित धरान कुनै समय घना जङ्गलले ढाकिएको क्षेत्र थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गरेको धरान (धराप) बाट यसको नाम रहन गएको बताइन्छ । आरावालाहरूको मेहनतले खारिएको धरान कालान्तरमा ‘लाहुरेको सहर’का रूपमा समेत परिचित भयो । समय क्रममा धरान ‘लाहुरेको सहर’का रूपमा मात्र नभई बुढासुब्बा, पिण्डेश्वरलगायत धार्मिक तथा पर्यटकीयस्थलका कारण पनि परिचित बन्यो ।
विसं २०१० मा धरानमा ब्रिटिस गोर्खा भर्ती केन्द्र स्थापना भएपछि पूर्वी नेपालका युवाहरू भर्ती हुन सयौँको सङ्ख्यामा आउन थाले । त्यतिबेला धरानस्थित घोपा क्याम्पभित्र ब्रिटिस गोर्खाको भर्ती केन्द्र रहेको थियो । लाहुरे बन्ने चाहना बोकेर चोङ्बाङ पनि २०२९ साउनमा खुलेको स्थानीय भर्तीमा सहभागी हुन तेह्रथुमबाट धरान झर्नुभयो । “पाँच सयमध्ये मलगायत नौ जना छनोटमा परेका थियौँ । त्यतिबेला लाहुरे लाग्न पढाई पाँच कक्षा पास गरे पुग्थ्यो । बाँकी दौडाइ, उचाइ र तौल मात्र लिइन्थ्यो,” उनले भने ।
भर्तीमा छनोट भएपछि उनलाई काठमाडौँबाट कलकत्ता हुँदै हङकङ पु-याइयो । हङकङमा नौ महिनाको तालिमपछि उनि त्यहाँको ७ गोर्खा राइफल्स (सेभेन ७ जीआर) को युनिटमा परे । सुरुमा ‘बी कम्पनी’मा दुई वर्ष सेवा गरेपछि उहाँ ‘सपोर्ट कम्पनी’मा खटिनुभयो । त्यहाँ १२ वर्ष सेवा गरेपछि पुनः दुई वर्ष ‘ए कम्पनी’मा पठाइयो ।
ब्रिटिस गोर्खामा सेवा गर्ने क्रममा उनले युद्धको कठिन अनुभव समेत सामना गरे । विसं २०३९ मा फकल्यान्ड टापुमा भएको युद्धमा करिब दुई महिनासम्म सहभागी भई सकुशल फर्किएको चोङ्बाङले बताए । युद्धपछि उनि बेलायतमा तीन वर्ष बसेपछि सेवानिवृत्त भई नेपाल फर्किए । ब्रिटिस गोर्खाको सेवाबाट फर्किए पनि उनको फौजी तथा सुरक्षा सेवासँगको सम्बन्ध भने टुटेन । २०४५ सालमा उगि पुनः ब्रुनाइ जीआरयूमा सुरक्षा सेवाका लागि गए । त्यहाँ १२ वर्ष सुरक्षा सेवामा काम गरेपछि उनि २०५६ सालमा नेपाल फर्किए ।
समाज सेवाको यात्रा
तेह्रथुमबाट बोकेको लाहुरे बन्ने सपना चार दशकपछि एउटा लामो जीवनयात्रामा परिणत भयो । विदेशमा सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नै समाज र देशका लागि प्रयोग गर्ने सोचका साथ उनि २०६८ सालदेखि समाजसेवामा लागे । मोहन हुक्पा चोङ्बाङ अहिले धेरैका लागि आफ्नो नामभन्दा पनि ‘मोहन मामा’का रूपमा परिचित छन । बुढापाका हुन् वा बालबालिका, उनलाई धेरैले (मोहन मामा) भनेर चिन्ने गर्छन् ।
“विदेशमा सिकेका कुरालाई नेपालमा पनि प्रयोग गरेर त्यहाँ भएका उन्नति प्रगतिका कुरा नेपालमा पनि लागू गरी देशका लागि केही योगदान गर्न मन लाग्यो अनि समाज सेवा सुरु गरे,” उनले भने । विदेशका धेरै देश घुम्ने क्रममा उनलाई नेपालको जस्तो प्राकृतिक विविधता र मौसमी विशेषता अन्यत्र कतै लागेन । “धेरै देश घुमियो, तर नेपालको जस्तो सिजनल मौसम खासै देखिएन । आफ्नो समाज र देशका लागि केही गर्नुपर्छ भन्ने लाग्यो,” अनि समाजसेवाको बाटो रोजेँ’’, उनले भने ।
मोरङकै बल्वाईमा पूजापाठ गर्नका लागि उनले आफ्नी स्वर्गीय आमाबुबाको नाममा एक कठ्ठा जग्गा उपलब्ध प्रदान गर्नु भएको छ । त्यसैगरी धरान–४ मा निर्माण गरिएको पर्यटकीय स्थल ढुङ्गेकला पार्कमा १० लाखभन्दा बढीको लागतमा चौतारा निर्माण गरिदिएका छन भने श्रीजङ्गाको सालिक निर्माणमा करिब एक लाख ४० हजार सहयोग गरेका छन।
धरान–२० स्थित सुलिकोट पदमार्गमा ‘सिलाम साक्मा पदमार्ग’ निर्माणका लागिसमेत उनले सहयोग गरेका छन । उक्त पदमार्ग करिब ३७ लाख भन्दा बढीको लागतमा पदमार्ग निर्माण गरिएको छ । यस ठाउँमा अहिले दैनिक रुपमा दुई सय बढी पर्यटक घुम्नका लागि पुग्ने गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा गरिब तथा निमुखा परिवार र विभिन्न सङ्घसंस्थालाई सहयोग गर्ने उनको आदत नै बनेको छ । कोरोना महामारीका समयमा विपन्न परिवारलाई उनले खाद्यान्न सहयोग गरेका थिए । त्यस्तै, सङ्खुवासभा र इलाममा रहेका चुम्लुङ हिम निर्माणमा समेत उनले सहयोग गरेका छन । तीन छोरा र एक छोरीका बुबा उनि श्रीमती र एक नातिसँगै धरानमा बस्दै आएका छन । उनका तीनै छोरा र छोरी बेलायतको लण्डनमा छन् । उमेर बढ्दै गए पनि समाजका लागि केही गरौँ भन्ने उनको इच्छाशक्ति र सेवाभाव भने अझै उस्तै छ ।
प्रकाशित समय : १६:५४ बजे


















