गृहपृष्ठ डोभाल–हान भेटमा सीमा शान्तिमा जोड
डोभाल–हान भेटमा सीमा शान्तिमा जोड
भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै द्विपक्षीय सम्बन्ध सुधार गर्ने उपायबारे छलफल गरेका छन् । दुईदिने चीन भ्रमणमा रहेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मङ्गलबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका हुन ।
भारत–चीन सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिको २५औँ चरणको वार्ताअघि भएको भेटमा सीमा क्षेत्रमा शान्ति र स्थिरता सुदृढ गर्ने तथा आर्थिक, राजनीतिक र बहुपक्षीय क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको चीनस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुवै पक्षले पछिल्लो घटनाक्रमको समीक्षा गर्दै सम्बन्धलाई क्रमशः सामान्य बनाउने दिशामा प्रगति भइरहेको बताए । उनका अनुसार स्थिर, पूर्वानुमानयोग्य र रचनात्मक सम्बन्धले दुई देशबीच विश्वास र समझदारी बढाउन सहयोग गर्नेछ ।
डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच पनि २५औँ चरणको विशेष प्रतिनिधि वार्ता हुँदैछ । गत जुनमा नयाँदिल्लीमा भएको ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकका क्रममा डोभाल र वाङबीच भेटवार्ता भएको थियो ।
भारत–चीन सम्बन्ध सुधारको प्रयासका क्रममा गत वर्ष तियानजिनमा भएको एससीओ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको थियो । दुवै नेताले दुई देश विकासका साझेदार रहेको र मतभेदलाई विवादमा परिणत हुन दिन नहुनेमा जोड दिएका थिए ।
सीमा विवादका कारण लामो समयदेखि तनावपूर्ण रहेको भारत–चीन सम्बन्धलाई उच्चस्तरीय संवादमार्फत क्रमशः सामान्य बनाउने प्रयास भइरहेको छ ।
प्रकाशित समय : १५:३४ बजे


















