गृहपृष्ठ दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा
दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ ।
बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् । उनीहरूले भैँसीको सिङबाट बनेको बाजासमेत बजाएका थिए ।
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वअन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजाआजा गरेका हुन् ।
नेपाल संवत्को दशौँ महिनाका रूपमा रहेको गुँला पर्वलाई पुण्य सञ्चय गर्ने पवित्र महिनाका रूपमा एक महिनासम्म मनाउने गरिन्छ । ‘गुँ’को अर्थ गुण गर्नु र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ ।
गुँला पर्वमा सहभागी भक्तजनले धार्मिककार्य गरी पुण्य सञ्चय गर्ने र आफ्नो क्षमताअनुसार दान दिने परम्परा छ । यस अवधिमा जीवनलाई शुद्ध र सात्विक बनाउने विभिन्न नियम पालना गर्ने गरिन्छ ।
धर्मावलम्बीले एक महिनासम्म प्राणी हिंसा नगर्ने, नदिइएको वस्तु नलिने, मिथ्याचार नगर्ने, झुटो नबोल्ने, लागुऔषध तथा मदिरा सेवन नगर्ने, अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण नलगाउने र ब्रह्मचार्य पालना गर्नेलगायतका अनुशासन पालना गर्ने गर्छन् ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले एकमहिने गुँला पर्वलाई व्यवस्थित बनाउन स्वयम्भू र आसपासका क्षेत्रमा सरसफाइ, रङरोगन तथा बत्ती जडान गरेको महासमिति सदस्य राजु लामाले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन बाजागाजासहित स्वयम्भूमा पूजाआजाका लागि आउने र पूजापछि शोभाभगवतीको परिक्रमा गर्ने परम्परा रहेको छ ।
प्रकाशित समय : ०५:३४ बजे


















