गृहपृष्ठ रौतहटमा फैसला कार्यान्वयन अभियान तीव्र, २६ फरार प्रतिवादी पक्राउ

रौतहटमा फैसला कार्यान्वयन अभियान तीव्र, २६ फरार प्रतिवादी पक्राउ

रौतहटमा फैसला कार्यान्वयन अभियान तीव्र, २६ फरार प्रतिवादी पक्राउ

रौतहट। रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका २६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा जालसाजी मुद्दाका ७ जना, चेक अनादरका १६ जना तथा कुटपिट–अंगभंग र विद्युतीय अपराध मुद्दाका एक–एक जना छन्।

जालसाजी मुद्दामा पक्राउ परेकाबाट जनही ३ हजार रुपैयाँ जरिवाना असुल गर्न अदालतले फैसला गरेको थियो। त्यस्तै, चेक अनादर मुद्दाका प्रतिवादीबाट ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना असुल गर्न बाँकी थियो।

कुटपिट तथा अंगभंग मुद्दाका एक प्रतिवादीलाई ४ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तथा विद्युतीय अपराध मुद्दाका अर्का प्रतिवादीलाई २ वर्ष ११ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार पक्राउ परेका २६ जनाबाट कुल २ वर्ष ११ महिना ४ दिन कैद र ५० हजार ३०० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमले अदालतबाट फैसला भएका तर कार्यान्वयन हुन बाँकी रहेका मुद्दाका प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने बताए। फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाएसँगै फैसला कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु