गृहपृष्ठ गोरखा विरासतलाई सम्मान गर्दै रोयल इन्फिल्डको ‘क्लासिक ३५० गोरखा एडिसन’ सार्वजनिक
गोरखा विरासतलाई सम्मान गर्दै रोयल इन्फिल्डको ‘क्लासिक ३५० गोरखा एडिसन’ सार्वजनिक
काठमाडौँ । रोयल इन्फिल्डले नेपालको गोरखा इतिहास, पहिचान र वीरताको सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको गौरवपूर्ण गोरखा विरासतसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ।
विशेष ‘गोरखा ग्रीन’ रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को मौलिक डिजाइनलाई कायम राख्दै गोरखा विरासत झल्काउने विशेष डिजाइन र फिचर थप गरिएको छ। सहज गियर सिफ्टका लागि मोटरसाइकलमा असिस्ट एन्ड स्लिपर क्लचसमेत उपलब्ध छ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए। गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनको भनाइ छ।
“गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ। यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरेका छौँ,” उनले भने।
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले पनि क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए। गोरखा एडिसनले नेपालको इतिहास, पहिचान र गौरवलाई नयाँ ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ।
क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै अपराइट राइडिङ पोस्चर, परिचित डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ।
मोटरसाइकलसँगै कम्पनीले ‘गोरखा कलेक्सन’ पनि सार्वजनिक गरेको छ। गोरखा विरासतबाट प्रेरित उक्त कलेक्सनमा प्रिमियम राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेल तथा अन्य सामग्री समावेश छन्।
कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ तथा नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको कम्पनीले जनाएको छ। गोरखा ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको छ।
रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसन नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डलाई विश्वकै सबैभन्दा लामो समयदेखि निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्डका रूपमा कम्पनीले प्रस्तुत गर्दै आएको छ। आइशर मोटर्सअन्तर्गत रहेको रोयल इन्फिल्ड भारतसहित विश्वका ८० भन्दा बढी देशमा उपस्थित छ।
कम्पनीले ‘प्योर मोटरसाइकलिङ’ दर्शनअन्तर्गत मोटरसाइकल यात्रा, अन्वेषण र व्यक्तिगत अभिव्यक्तिलाई केन्द्रमा राख्दै आएको जनाएको छ।
प्रकाशित समय : १४:४४ बजे


















