गृहपृष्ठ विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री
विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाल विद्युत् उत्पादन, प्रसारण, आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापार विस्तारको निर्णायक चरणमा प्रवेश गरिसकेको बताए । उनले विद्युत् उत्पादनको पूर्ण लाभ लिन आधुनिक, भरपर्दो, सुरक्षित र पर्याप्त क्षमताको प्रसारण प्रणाली निर्माणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले विद्युत् उत्पादन मात्र बढाएर ऊर्जा क्षेत्रबाट अपेक्षित आर्थिक प्रतिफल हासिल गर्न नसकिने उल्लेख गर्दै उत्पादन, प्रसारण र वितरण पूर्वाधारको एकीकृत विकास आवश्यक रहेको बताए ।
‘विद्युत् उत्पादन बढ्दै जानु सकारात्मक उपलब्धि हो, तर उत्पादित विद्युतलाई विश्वसनीय रूपमा प्रसारण गर्न र उत्पादनशील क्षेत्रमा खपत बढाउन सकिएन भने यसको पूर्ण आर्थिक लाभ लिन सकिँदैन,’ उनले भने ।
मन्त्री श्रेष्ठले सरकारले विद्युतलाई औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक रूपान्तरणको प्रमुख संवाहकका रूपमा विकास गर्ने नीति लिएको बताए । त्यसका लागि उद्योग, कृषि, सिँचाइ, विद्युतीय यातायात, सूचना प्रविधि तथा अन्य उत्पादनशील क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक नीतिगत तथा पूर्वाधारगत व्यवस्था गरिने उनको भनाइ थियो ।
उहाँले देशभित्र खपत हुन नसक्ने अतिरिक्त विद्युत्लाई क्षेत्रीय बजारमा पु¥याएर विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउने पर्याप्त सम्भावना रहेको बताए । नेपालको जलविद्युत् सम्भावनालाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्न सकिए विद्युत् क्षेत्र मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उनले उल्लेख गरे ।
मन्त्री श्रेष्ठले उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन तथा अन्तरदेशीय प्रसारण पूर्वाधारको विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको बताउँदै सार्वजनिक क्षेत्रसँगै निजी क्षेत्र, विकास साझेदार, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, प्रसारण प्रणालीलाई भविष्यको विद्युत् उत्पादन र मागअनुसार सक्षम बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उनले बताए । आधुनिक ग्रिड व्यवस्थापन प्रणालीको प्रयोगमार्फत प्रसारण प्रणालीलाई थप विश्वसनीय, प्रभावकारी र दिगो बनाउनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित समय : ०८:५२ बजे


















