गृहपृष्ठ कैलारी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सेवा सुरु
कैलारी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सेवा सुरु
सुदूरपश्चिमकैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ । आज एक कार्यक्रमकाबीच अस्पताल सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने बताए ।
उनले यसअघि गाउँपालिका क्षेत्रमा स्तरीय स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत उपचारका लागि धनगढी जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। “अस्पतालले यहाँका नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । खासगरी गाउँपालिकाको दक्षिणी क्षेत्रका कतिपय नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रमा जाने समस्या पनि समाधान हुनेछ”, अध्यक्ष चौधरीले भने ।
गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने सङ्घीय सरकारको नीतिअनुसार अस्पताल सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । कूल १९ करोड पाँच लाख लागतमा अस्पताल निर्माण सम्पन्न भएको उनले बताए । विसं २०७९ असार २९ गते ठेक्का सम्झौता भई अस्पताल निर्माण सुरु भएकामा गत असारमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो ।
अस्पतालमा हाल बहिरङ्ग सेवा (ओपिडी) एक्सरे, इसिजी, प्रयोगशाला, प्रसूति र फार्मेसीलगायत सेवा दिइने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित समय : २०:५४ बजे


















