काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हर्मुज खोल्न ट्रम्पको चेतावनी

2.48K
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छन् । उनले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी ‘धेरै चाँडै’ खुल्ने अपेक्षा व्यक्त गरे । उनले त्यसो नभए इरान ‘धेरै नराम्ररी प्रभावित’ हुने चेतावनी दिँदै अन्ततः जलघाँटी खुल्ने दाबी गरे ।

ट्रम्पको यो प्रतिक्रिया अमेरिका, इरान र ओमानबीच जलघाँटी पुनः सञ्चालनका लागि अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको र अमेरिकाले बुधबार त्यसको घोषणा गर्न सक्ने एक्सियोसको समाचार सार्वजनिक भएपछि आएको हो ।

उनले अमेरिका र इरानबीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै दुवै पक्ष द्वन्द्व अन्त्य गर्ने उपाय खोज्ने प्रयासमा रहेको बताए । “कार्य नै सबैभन्दा महत्त्वपूर्ण हो, उनीहरू सम्झौता गर्न चाहन्छन्, के हुन्छ हेर्दै जाऔँ”, ट्रम्पले भने । उनले आफूलाई कूटनीतिक प्रयासका लागि पर्याप्त समय रहेको पनि बताए ।

पछि क्यालिफोर्नियाबाट लास भेगासतर्फ प्रस्थान गर्नुअघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौता ‘भोलि वा पर्सिसम्म’ हुन सक्ने विश्वास व्यक्त गरे ।

एक्सियोसका अनुसार प्रस्तावित अन्तरिम व्यवस्थाअन्तर्गत इरान र ओमानबीच हर्मुज जलघाँटीमा ६० दिनका लागि सुरक्षित समुद्री आवागमन सुनिश्चित गरिनेछ । यस अवधिमा कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिइने व्यवस्था रहनेछ र आवश्यक परे उक्त सम्झौता थप विस्तार गर्न सकिने जनाइएको छ ।

सम्झौताअनुसार खाडीतर्फ प्रवेश गर्ने जहाजहरूले इरानी जलक्षेत्रको उत्तरी जलमार्ग प्रयोग गर्नेछन् भने बाहिरिने जहाजहरूले ओमानको क्षेत्रीय जलक्षेत्र हुँदै दक्षिणी मार्गबाट आवागमन गर्ने व्यवस्था रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वव्यापी तेल र प्राकृतिक ग्यास आपूर्तिको प्रमुख समुद्री मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा देखिएको पछिल्लो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र क्षेत्रीय सुरक्षालाई प्रभावित पार्ने चिन्ता बढ्दै आएको छ ।