global ime bank Long Banner Ad

गृहपृष्ठ मालीमा रुसी हवाई आक्रमणमा आठ सर्वसाधारण मारिएको दाबी

मालीमा रुसी हवाई आक्रमणमा आठ सर्वसाधारण मारिएको दाबी

मालीमा रुसी हवाई आक्रमणमा आठ सर्वसाधारण मारिएको दाबी

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले गत जुन महिनामा मध्य मालीको एक गाउँमा रुसी सरकार समर्थित अफ्रिका कोप्र्सले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । संस्थाले आक्रमणमा कुनै पनि इस्लामिक विद्रोही लडाकू मारिएको प्रमाण फेला नपरेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माली सरकारलाई आग्रह गरेको छ ।

एचआरडब्लुका अनुसार जुन १५ मा मोप्टी क्षेत्रको किर्निया गाउँमा रुसी सुखोई सु–२४ आक्रमणकारी विमानबाट दुईवटा बम खसालिएको थियो । पहिलो आक्रमण गाउँ प्रमुखको घर नजिकै भएको थियो, जसमा उहाँकी श्रीमती र तीन सन्तानको मृत्यु भएको बताइएको छ । दोस्रो आक्रमण नजिकैको गाईवस्तु बजारमा हुँदा थप चार जनाको ज्यान गएको संस्थाले जनाएको छ ।

यद्यपि, एसोसिएटेड प्रेसले एचआरडब्लुको उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।

एचआरडब्लुले घटनाबारे १९ जनासँग अन्तर्वार्ता लिएको, उपग्रह तस्बिरको विश्लेषण गरेको तथा अफ्रिका कोप्र्सले उक्त आक्रमणलाई ‘आतङ्ककारीहरूको जमघट’ लक्षित गरिएको भन्दै सार्वजनिक गरेको भिडियोसमेत अध्ययन गरेको जनाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार घटनाको समयमा गाउँमा करिब १०० जना जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमिन (जेएनआइएम) का लडाकू रहेको अनुमान गरिए पनि उनीहरू अधिकांश अन्य स्थानमा भेला भएका थिए र आक्रमण स्पष्ट सैन्य लक्ष्यमा केन्द्रित भएको देखिँदैन ।

अधिकार समूहले माली सरकारलाई घटनाको स्वतन्त्र अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । अन्यथा यो घटना सम्भावित युद्ध अपराधका रूपमा व्याख्या हुन सक्ने संस्थाको चेतावनी छ ।

रुसको रक्षा मन्त्रालयले भने यस विषयमा गरिएको टिप्पणीको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

माली एक दशकभन्दा बढी समयदेखि अल–कायदा र इस्लामिक स्टेटसँग आबद्ध सशस्त्र समूहहरू, विशेषगरी जेएनआइएम, तथा उत्तरका तुआरेग पृथकतावादी विद्रोहीहरूको हिंसाबाट प्रभावित छ । पछिल्ला महिनाहरूमा जेएनआइएम र तुआरेग विद्रोहीहरूको गठबन्धनले राजधानी बामाकोको विमानस्थल, नजिकैको काटी सैन्य छावनी तथा उत्तर र मध्य मालीका विभिन्न सहरमा समन्वित आक्रमण गरेपछि सुरक्षा अवस्था थप जटिल बनेको छ ।

सन् २०२१ को अन्त्यदेखि मालीको सैनिक नेतृत्वलाई विद्रोहीविरुद्धको अभियानमा सहयोग गर्न रुसी भाडाका सैनिकहरू त्यहाँ सक्रिय छन् । गत वर्ष निजी सैनिक समूह वाग्नरको स्थानमा रुसको रक्षा मन्त्रालयअन्तर्गतको अफ्रिका कोप्र्सले मालीमा आफ्नो भूमिका विस्तार गरेको थियो ।रासस

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु