गृहपृष्ठ सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हाे : सभामुख यादव
सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हाे : सभामुख यादव
जनकपुरधाम ।मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा पहिचानको विषय मात्र नभई लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार भएको बताएको छन् ।
मधेस प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिद्वारा आज आयोजित ‘सङ्घीयता सवलीकरण’सम्बन्धी अन्तरक्रियामा सभामुख यादवले सङ्घीयता र गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउन नसके भावी पुस्ताले वर्तमान नेतृत्वलाई माफी नगर्ने चेतावनी दिए ।
संविधानमा संवैधानिक अदालतको व्यवस्था हुनुपर्ने भए पनि त्यसको सट्टा संवैधानिक इजलाश स्थापना गरिएको उल्लेख गर्दै उनले प्रदेश अधिकारसँग सम्बन्धित धेरै मुद्दा अहिले संवैधानिक इजलाशमा विचाराधीन रहेको जानकारी दिए ।
प्रदेशसभा सदस्य रामसरोज यादवले सङ्घीयता आए पनि प्रदेशलाई पर्याप्त अधिकार अझै अपुग भएको बताए । प्रदेशसभा सदस्य सुरिता साहले प्रदेशले बनाएका ऐन–कानुन कार्यान्वयनमा सङ्घीय सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।
संविधानसभा सदस्य डा विजयप्रसाद सिंहले सङ्घीयताको सुदृढीकरणका लागि प्रदेश सरकारले आफैं निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने बताए। प्रदेश नीति आयोगका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले पात्र र प्रणालीलाई एउटै रूपमा मूल्याङ्कन गर्नु गलत हुने बताए । “सङ्घीयता प्रणाली हो, मुख्यमन्त्री र मन्त्री पात्र हुन् । पात्र गलत हुन सक्छन्, प्रणाली होइन”, उनले भने ।
जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख लालकिशोर साहले व्यवस्थाभन्दा पात्रहरूको कमजोरीका कारण सङ्घीयतामाथि प्रहार भइरहेको बताए । डा शरद यादवले प्रदेश सरकारले कृषि, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवर्द्धनमा प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सङ्घीयताको सवलीकरणका लागि अधिकारको प्रभावकारी कार्यान्वयन, आर्थिक स्वायत्तता, प्रशासनिक सुधार तथा जनतामा सकारात्मक विश्वास निर्माण अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
प्रकाशित समय : १९:५४ बजे



















