गृहपृष्ठ नेपाल टेलिकमको मनसुन अफर, पोस्टपेड–प्रिपेडमा नयाँ प्याक
नेपाल टेलिकमको मनसुन अफर, पोस्टपेड–प्रिपेडमा नयाँ प्याक
काठमाडौं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड मोबाइल सेवामा नयाँ डाटा तथा भ्वाइस प्याकेज ल्याएको छ। कम्पनीले केही नयाँ प्याक सञ्चालनमा ल्याउनुका साथै हाल उपलब्ध प्याकेजलाई थप सुविधासहित निरन्तरता दिएको जनाएको छ।
साउन १२ देखि लागू भएको अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३० दिन अवधि भएका ‘पोस्टपेड ३७३’ र ‘पोस्टपेड ४९९’ प्याक उपलब्ध गराइएको छ। ३७३ रुपैयाँको प्याकमा ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा एसएमएस तथा ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा एसएमएस समावेश गरिएको कम्पनीले जनाएको छ।
पोस्टपेडतर्फको ‘सजिलो अनलिमिटेड’ प्याकलाई पनि थप आकर्षक बनाइएको छ। ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले ३० दिनका लागि ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ। त्यस्तै ७९९ रुपैयाँमा दैनिक १० जीबीका दरले ३०० जीबी डाटा र २५० एसएमएस तथा ९९९ रुपैयाँमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा र ३०० एसएमएस पाइनेछ।
धेरै डाटा प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै १ हजार ४९९ रुपैयाँको प्याकमा ५०० जीबी डाटा, अनलिमिटेड भ्वाइस र ३५० एसएमएस तथा १ हजार ९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’मा अनलिमिटेड डाटा, अनलिमिटेड भ्वाइस र ५०० एसएमएस उपलब्ध गराइएको छ।
प्रिपेड ग्राहकका लागि पनि नयाँ डाटा प्याक थपिएको छ। अब ९९ रुपैयाँमा एक दिनका लागि ८ जीबी र १९९ रुपैयाँमा सात दिनका लागि २० जीबी डाटा उपलब्ध हुनेछ। यस्तै ‘सजिलो अनलिमिटेड’ प्रिपेड प्याकअन्तर्गत ९९९ रुपैयाँमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा, अनलिमिटेड अल–नेट भ्वाइस र ३०० एसएमएस तथा १ हजार ४९९ रुपैयाँमा ५०० जीबी डाटा, अनलिमिटेड भ्वाइस र ३५० एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ।
स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’ सेवाअन्तर्गत २९९, ४९९ र ७९९ रुपैयाँका प्याकसँगै अब ६९९ रुपैयाँको नयाँ प्याक पनि थपिएको छ। कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा समेत नयाँ प्याक समावेश गरिएको टेलिकमले जनाएको छ।
कम्पनीले ‘नमस्ते क्रेडिट’ (सापटी) सेवामा पनि परिमार्जन गरेको छ। साउन १५ देखि सापटी रकम ३० रुपैयाँ कायम गरिएको छ। उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
टेलिकमका अनुसार ग्राहकले *1415# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेजबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्। साथै भ्वाइस, डाटा, बन्डल्ड, एड–अन, एसएमएस तथा एफटीटीएचलगायतका अन्य प्याकेज पनि यथावत् उपलब्ध रहनेछन्।
प्रकाशित समय : १२:२४ बजे


















