global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा जोड

राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा जोड

राष्ट्रिय विभूतिहरूको योगदानबाट प्रेरणा लिएर देशको स्वाभिमान जोगाउनुपर्नेमा जोड

काठमाडौं । अमरसिंह थापा र भीमसेन थापाजस्ता राष्ट्रिय विभूतिहरूको योगदान स्मरण गर्दै देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्मिता संरक्षणका लागि उनीहरूको आदर्शबाट प्रेरणा लिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।

बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालद्वारा राष्ट्रिय विभूति वीर योद्धा बडाकाजी अमरसिंह थापाको २१० औँ स्मृति दिवस तथा मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा आयोजित बृहत्त रक्तदान कार्यक्रममा वक्ताहरूले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा.राम थापा क्षेत्रीले राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहासमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्दै उनको देशभक्ति, इमानदारिता, नैतिकता र अदम्य साहस आज पनि अनुकरणीय रहेको बताए ।

उनले भने, ‘गोरखामा जन्मेका राष्ट्रिय विभूति भीमसेन थापा जसले नेपालको इतिहासमा धेरै महत्वपूर्ण काम त गर्नु नै भयो । तर उहाँले आफ्नो जीवनकालमा देशभक्ति, इमानदारिता र नौतिकता अदम्म शाहस देखाउनुभयो । त्यसको फलःस्वरुप हामी सुगौली सन्धि पश्चातको वर्तमान नेपालमा बाँचिरहेका छौं ।’

उनले सुगौली सन्धिपछिको वर्तमान नेपालको अस्तित्व कायम रहन वीर पुर्खाहरूको बलिदान निर्णायक रहेको उल्लेख गर्दै नालापानी, सिन्धुलीगढी, किल्ला–काँकडा लगायतका ऐतिहासिक युद्धस्थलमा नेपाली वीरहरूले देशको स्वतन्त्रता र स्वाभिमानका लागि आफ्नो रगत बगाएको स्मरण गरे ।

उनले भने, ‘किल्ला–काँकडा, नालापानी, सिन्धुलीगढीलगायत धेरै गढीहरु सम्झिन चाहन्छु । जहाँ हाम्रा वीर पूर्खाहरुले आफ्नो रगत बगाएर देशको स्वाधिनताको लागि आफ्नो प्राण उत्सर्ग गर्नुभयो ।’

त्यसैगरी वरिष्ठ चिकित्सक प्रा.डा.बुद्धिबहादुर थापाले आफ्नो लामो चिकित्सकीय सेवायात्राका क्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेको अनुभव सुनाउँदै क्षेत्री अस्पतालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले उक्त अस्पताललाई सरकारी स्वामित्वमा ल्याइ गण्डकी प्रदेशकै प्रतिष्ठित स्वास्थ्य संस्थाका रूपमा विकास गर्न तथा एमडीएस अध्ययन सुरु गर्ने प्रक्रियामा संस्थापक नेतृत्व गर्ने अवसर पाएको उल्लेख गरे ।

उनले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको व्यवस्थापन तथा फोक्सोसम्बन्धी रोग उपचार सेवाको विकासमा पनि सक्रिय योगदान दिएको जानकारी दिए ।

स्वास्थ्य क्षेत्र र सामाजिक सेवामा पुर्याएको योगदानका आधारमा विभिन्न संघसंस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गर्ने अवसर पाएको उनले बताए ।

उनले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी तथा धवलागिरि क्षेत्रका बगाले थापा समुदायका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरे ।

आगामी साउन १६ गते पोखरामा आयोजना हुने महाराज अमरसिंह थापाको जन्मजयन्ती कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा समेत दिए ।

उनले राष्ट्रिय विभूतिहरूले देखाएको त्याग, समर्पण र राष्ट्रभक्तिबाट प्रेरणा लिएर नेपालको स्वाभिमान, अस्मिता र राष्ट्रिय एकता जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु