global ime bank Long Banner Ad

गृहपृष्ठ मोदीको पहलपछि सरकार–आन्दोलन वार्ता

मोदीको पहलपछि सरकार–आन्दोलन वार्ता

मोदीको पहलपछि सरकार–आन्दोलन वार्ता

भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई शीघ्र कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच संवादको वातावरण बनेको हो ।

मेडिकल प्रवेश परीक्षा तथा उच्च माध्यमिक तहको अनलाइन मूल्याङ्कन प्रणालीमा देखिएको त्रुटिपछि देशभर शिक्षा प्रणालीप्रति असन्तुष्टि बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत सक्रिय ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको छ ।

सिजेपीका प्रवक्ता सौरभ दासले सरकारसँग हुने वार्तामा आन्दोलनका माग विस्तृत रूपमा प्रस्तुत गरिने बताउनुभयो । उहाँले लामो समयदेखि सडकमा उत्रिएका नागरिकहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्ने अपेक्षा व्यक्त गरे् ।

प्रधानमन्त्री मोदीले बिहीबार राति सामाजिक सञ्जालमार्फत मन्त्रिमण्डलले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिविरुद्ध कानूनी कारबाहीलाई तीव्र बनाउने उपायमाथि छलफल गर्ने जानकारी दिएको थिए । उनका अनुसार सम्बन्धित मन्त्रीहरूको सुझाव समेटेर विधेयकलाई अन्तिम रूप दिइनेछ र त्यसलाई यथाशीघ्र संसद्मा प्रस्तुत गरी पारित गराउने प्रयास गरिनेछ ।

प्रधानमन्त्रीको यो सक्रियता शिक्षा सुधारको माग गर्दै आन्दोलनरत विद्यार्थी, नागरिक समाज तथा विभिन्न समूहबाट बढ्दो दबाबबीच आएको हो ।

यसैबीच आन्दोलनको समर्थनमा २६ दिनदेखि अनशनरत रहेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार राति भोक हडताल अन्त्य गरेका छन् । उनले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नगर्ने तथा शिक्षा र परीक्षा प्रणालीमा जवाफदेहिता सुधारका विषयमा संसद्मा विस्तृत छलफल गराउने आश्वासन दिएको जानकारी दिएको छन् ।

गत सोमबार नयाँदिल्लीमा भएको प्रदर्शनका क्रममा दशौँ हजार प्रदर्शनकारी सहभागी भएका थिए । राजधानीमा पछिल्लो पाँच वर्षयताकै ठूलो प्रदर्शन मानिएको उक्त र्‍याली नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो ।

सिजेपीका संस्थापक अभिजीत डिप्केले वाङचुकले अनशन अन्त्य गरेको निर्णयको स्वागत गर्दै शिक्षामन्त्री प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन् । उनले वाङचुकको त्यागले देशको जनमतलाई जागृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

सन् २०२४ मा तेस्रो कार्यकाल सुरु गरेपछि प्रधानमन्त्री मोदीले सामना गरिरहेको सबैभन्दा ठूलो राजनीतिक चुनौतीका रूपमा यो शिक्षा आन्दोलनलाई हेरिएको छ ।रासस

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु