global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति

संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ ।

अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२।५ प्रतिशतसम्म रहेको छ । चीनलाई सबैभन्दा उच्च १२।५ प्रतिशत शुल्कको दायरामा राखिएको छ । अमेरिकी प्रशासनले जबरजस्ती श्रमसम्बन्धी चिन्तालाई आधार बनाएर यो निर्णय गरेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने स्पष्ट पार्नुभयो । उहाँले व्यापार युद्ध वा शुल्क युद्ध कुनै पनि पक्षको हितमा नहुने भन्दै यस्ता कदमले सहकार्यभन्दा द्वन्द्वलाई बढावा दिने चेतावनी दिए ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने संयुक्त राज्य अमेरिकाले लामो समयदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा कडा प्रतिबन्ध लगाउँदै आएको र व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउनुपर्ने समय आएको बताएको छन् ।

नयाँ व्यवस्था यस वर्षको सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो । फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको केही शुल्क अधिकार सीमित गरेपछि ट्रम्प प्रशासनले नयाँ कानूनी आधारमा शुल्क नीति पुनः लागू गरेको हो ।

घोषणाअनुसार क्यानाडा, युरोपेली सङ्घ (इयु) र संयुक्त अधिराज्यजस्ता जबरजस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागू गरेका मुलुकलाई १० प्रतिशत शुल्क लगाइएको छ भने चीन, भारत, जापानलगायतका प्रमुख व्यापारिक साझेदारमाथि १२।५ प्रतिशतसम्मको उच्च शुल्क लागू गरिएको छ ।

गत वर्ष लामो व्यापार तनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तापछि दुवै देशबीच व्यापार विवाद केही समयका लागि मत्थर भएको थियो । यस वर्ष ट्रम्पको बेइजिङ भ्रमणपछि दुवै पक्षले शुल्क घटाउने दिशामा काम गर्ने सङ्केत दिएका थिए । तर पछिल्लो अमेरिकी निर्णयले दुई देशबीचको व्यापारिक तनाव पुनः चर्किने सम्भावना बढाएको विश्लेषण गरिएको छ ।रासस

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु