राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव सम्पन्न
वि.सं.२०८३ साउन ७ बिहीवार १८:४४
shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव बुधबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
वार्षिकोत्सवको मूल समारोहको उद्घाटन राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले गरेका हुन्। कार्यक्रममा बोल्दै उनले कर्मचारी र व्यवस्थापनबीचको सहकार्यले संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
संघका अध्यक्ष रबिन्द्र प्रसाद चौलागाईंले कर्मचारीका पेशागत हकहितसँग सम्बन्धित मागलाई व्यवस्थापनले उचित ढंगले सम्बोधन गर्नुपर्ने बताए। उनले बैंकको सेवा प्रवाहलाई सरल, सहज र गुणस्तरीय बनाउन सबै कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्मराज मैनाली, संघका सल्लाहकार समिति सभापति तथा पूर्वअध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ (राष्ट्रिय वाणिज्य बैंक) का अध्यक्ष सुदिन केसी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय वाणिज्य बैंक) का कार्यवाहक अध्यक्ष चुडामणि गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए। वक्ताहरूले ट्रेड युनियनको भूमिका, कर्मचारीको पेशागत सुरक्षा तथा संस्थागत सुदृढीकरणमा जोड दिएका थिए।
वार्षिकोत्सवका अवसरमा संघले देशभरका प्रदेश समितिमार्फत पनि विविध कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारी सहभागी भएका थिए भने स्वास्थ्य तथा आँखा–कान परीक्षण शिविरबाट ३०० कर्मचारी लाभान्वित भएका थिए।
कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट ठहरिएको लुम्बिनी प्रदेश समितिलाई रनिङ शिल्ड प्रदान गरिएको छ। यस्तै, ‘संस्थाको संवर्द्धन र पेशागत हकहितका लागि ट्रेड युनियनको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय र लक्ष्मण पौडेल तृतीय भएका छन्। विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
संघका महासचिव ऋषिराम ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कबिराज बरालले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा संघका पूर्वपदाधिकारी, विभिन्न ट्रेड युनियनका प्रतिनिधि, बैंकका उच्च अधिकारी, विभागीय प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सव सफल बनाउन योगदान पुर्याउने केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी, सदस्य र सम्पूर्ण कर्मचारीप्रति संघले आभार व्यक्त गरेको छ।






















