गृहपृष्ठ स्थानीय उत्पादनको ब्राण्डिङमा सहकारीको पहल, कोदो र फापरको पिठो बजारमा
स्थानीय उत्पादनको ब्राण्डिङमा सहकारीको पहल, कोदो र फापरको पिठो बजारमा
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले स्थानीय किसानले उत्पादन गर्ने कोदो र फापरको पिठोलाई ब्राण्डिङ गर्दै बजारमा ल्याएको छ। सहकारीले पिठो प्रशोधन, लेबलिङ र आकर्षक प्याकेजिङ गरी बिक्रीवितरण सुरु गरेको हो।
सहकारीका अध्यक्ष नन्दलाल पाध्यायका अनुसार किसानबाट संकलित कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याइएको हो। जिल्ला कृषि विकास कार्यालयबाट ७५ प्रतिशत अनुदानमा प्रशोधन उपकरण प्राप्त भएपछि लेबलिङ र प्याकेजिङको काम सम्भव भएको उनले बताए।
स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्दै किसानको आम्दानी बढाउने उद्देश्यले पिठोलाई ब्राण्डिङ गरिएको सहकारीले जनाएको छ। हाल फापरको पिठो प्रतिकिलो रु २६० र कोदोको पिठो प्रतिकिलो १६० मा बिक्री भइरहेको छ।
पहिलो चरणमा ५० किलो कच्चा पदार्थबाट उत्पादन, प्रशोधन र प्याकेजिङ सुरु गरिएको छ। यस कार्यमा सहकारीका दुई कर्मचारीसँगै पदाधिकारी र सदस्यहरू समेत प्रत्यक्ष रूपमा संलग्न छन्।
सहकारीले कोदो र फापर खेतीको उत्पादन तथा बजारको मागका आधारमा आगामी दिनमा उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको जनाएको छ।
यद्यपि बजारमा उपलब्ध औद्योगिक तयारी पिठोको तुलनामा स्थानीय उत्पादनको लागत बढी पर्ने भएकाले बजार व्यवस्थापन चुनौतीपूर्ण रहेको अध्यक्ष पाध्यायको भनाइ छ। स्वादिष्ट र स्वास्थ्यका दृष्टिले लाभदायक भएकाले स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै जाने विश्वास सहकारीले व्यक्त गरेको छ।
प्रकाशित समय : १९:३७ बजे



















