गृहपृष्ठ प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ गते
प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ गते
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोल्ने तथा वितरण गर्ने, उनीहरूले पेस गरेका कार्ययोजना अध्ययन गर्ने र सुनुवाइको कार्यतालिका तय गर्ने विषयमा छलफल भएको थियो।
बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले सदस्यहरूलाई प्राप्त उजुरीहरूको अध्ययन गरी उपयुक्त उजुरीका उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराउने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने तथा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको सुनुवाइ सम्पन्न गर्न कार्यतालिका निर्माण गर्नुपर्ने भएकाले सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिकामाथि छलफल गर्न आग्रह गरेका थिए।
उनले बैठकको निष्कर्ष सुनाउँदै भने, ‘आजको निष्कर्षको रूपमा कार्ययोजनाहरूको अध्ययन गर्ने, उजुरीहरूको अध्ययन गर्ने र उहाँहरूलाई प्रस्तुतिका लागि आमन्त्रण गर्ने, ११ गते दुई जना निर्वाचन आयुक्तहरूलाई बोलाउने र १३ गते प्रमुख निर्वाचन आयुक्तलाई बोलाउने निर्णय गरेका छौँ। बिहान ११ः१५ बजेबाट सुनुवाइ सुरु हुनेछ। समितिको अर्को बैठक साउन १२ र १३ गते बिहान ११ः१५ बजे बस्ने गरी आजको बैठक स्थगित हुन्छ।’
समितिले सिफारिस भएका उम्मेदवारमाथि परेका उजुरी, उनीहरूको कार्ययोजना तथा आवश्यक छलफलका आधारमा संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने जनाएको छ।
प्रकाशित समय : १५:२८ बजे


















