गृहपृष्ठ भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
बागमती।हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरमा अवस्थित प्रसिद्ध भुवनेश्वर पशुपति मन्दिरमा आज दर्शनार्थीको चाप देखिएको छ ।
मन्दिरमा हरेक वर्ष साउन महिनामा विशेष गरी सोमबार हेटौँडा र आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको भुवनेश्वर पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष जगन्नाथ पाण्डेले जानकारी दिए ।
मन्दिरमा आउने दर्शनार्थीको उचित व्यवस्थापनसँगै उनीहरूलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाबाट निःशुल्क पिउने पानी वितरणजस्ता कार्यहरू समेत भइरहेको उनले बताए ।
पशुपतिनाथ मन्दिरकै स्वरूपमा निर्माण गरिएको १० कट्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ । विसं २०४२ मा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथको जस्तै पूजाविधि तथा परम्परा रहेको मन्दिरका पुजारी पवन घिमिरेले जानकारी दिए।
उनका अनुसार मन्दिरमा दर्शनार्थीलाई पशुपतिमा जस्तै भित्र मूर्तिसम्म नपुगी मूल प्रवेशद्वार बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।
मन्दिरमा हरेक दिन नै भक्तजन आउने गरेको बताउँदै उनले साउनको सोमबार, शिवरात्रिलगायतका विशेष तिथि र पर्वमा भने एकै दिनमा २० हजारभन्दा बढी भक्तजनसम्म आउने गरेको जानकारी दिए । उनका अनुसार मन्दिर विशेष पर्वका दिनमा आवश्यकता अनुसार खुल्ने भए पनि मङ्सिर, पुस र माघ महिनामा बिहान ५ः०० बजेदेखि १० बजेसम्म खुल्ने तथा बेलुका ४ः०० बजेदेखि ६ः०० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । यी तीन महिनाबाहेक अन्य महिनामा बिहान ४ः०० बजेदेखि १०ः०० बजेसम्म र बेलुका ५ः३० बजेदेखि ७ः०० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।
समितिका अध्यक्ष पाण्डेका अनुसार भौतिक पूर्वाधार विकासका माध्यमबाट टाढाटाढाबाट आउने दर्शनार्थाीलाई सहयोग पु¥याउने लक्ष्यका साथ मन्दिरमा आवासको व्यवस्थासमेत गरिएको छ । बस्न चाहने दर्शनार्थीका लागि शय्याको सरसफाइ प्रयोजनका लागि प्रतिव्यक्ति २०० लिने गरिएको उनले जानकारी दिए ।
प्रकाशित समय : १३:५७ बजे



















