global ime bank Long Banner Ad

गृहपृष्ठ १०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर

१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर

१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका नयाँ संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ । पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने श्रद्धालु तथा धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ । रामधुनी जङ्गलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् भने रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार संघीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको छ । उनले भने, संघीय सरकारको रु।एक करोड ३५ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको १०८ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ । धारा निर्माण भएपछि यहाँ मन्दिरमा आउने तिर्थालुले पवित्र स्नान गर्न पाउनुका साथै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसै गरी राधुनी मन्दिर परिसरमा संघीय सरकार र रामधुनी नगरपालिकाको आधा आधा लगानी गर्ने गरी रु। दुई करोड रुपैयाँको लगानीमा धर्मशाला निर्माण भइरहेको छ । साथै कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको रु।५० लाख रुपैयाँबाट तपस्वीथानमा सिँढी तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भएको छ भने गुठी संस्थानको रु।पाँच लाख रुपैयाँको सहयोगमा यस अघि सीताको मूर्ति निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार तथा अन्य आवश्यक संरचना निर्माण भइसकेका छन् । साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदासका मन्दिर निर्माणको काम पनि अघि बढिरहेको छ ।

इटहरीबाट घुम्न आएका सन्जोग श्रेष्ठले मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराले रामधुनीको सौन्दर्य र आकर्षण थप बढाएको बताए । पहिला भन्दा अहिले मन्दिर आकर्षक देखिएको छ तर व्यवस्थापन र सरसफाइ अलिक कम भएको हो कि जस्तो लाग्छ । १०८ धाराले यहाँको धार्मिक वातावरण मनमोहक त बनाएको छ । यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने छ तर यसलाई व्यवस्थापन र संरक्षणमा भने ध्यान दिन आवश्यक छ ।

व्यवस्थापन समितिका अनुसार मन्दिरमा नेपाल, भारतलगायतका ठाउँहरूबाट आउने भक्तजनको आगमन पनि बढ्दै गएको छ । मन्दिर परिसरका स्थानीय होटल व्यवसायीहरूका अनुसार मन्दिर क्षेत्रमा भएको पूर्वाधार विकासले धार्मिक पर्यटकलाई सहजता प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटन सम्भावना पनि विस्तार गरेको छ । प्राकृतिक वातावरण, धार्मिक आस्था र नयाँ पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयको भनाई छ ।

प्रकाशित समय : ०५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु