गृहपृष्ठ वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास : मन्त्री चौधरी
वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास : मन्त्री चौधरी
पाटन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का नवनियुक्त वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
नार्कले आयोजना गरेको नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै मन्त्री चौधरीले वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ कृषि क्षेत्रमा देखिएका समस्या समाधानमा इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गरे।
‘नार्क र कृषि क्षेत्रमा सुधारको आवश्यकता छ। विगत केही वर्षदेखि परिषद् आन्तरिक जटिलता र संरचनागत समस्याका कारण आफ्नो अस्तित्वकै परीक्षाबाट गुज्रिएको छ। मन्त्रालयले उच्च प्राथमिकता दिए पनि परिषद्ले अहिलेसम्म स्पष्ट मार्गचित्र कोर्न सकेको छैन। कृषि नै राष्ट्रको विकासको मुख्य आधार हो। यसको सुधारमा तपाईंहरूजस्ता वैज्ञानिकको महत्वपूर्ण भूमिका रहनेछ,’ उनले भने।
वैज्ञानिकहरूको कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर दिइने भन्दै उनले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग सहकार्य अघि बढाउने तयारी भइरहेको बताए। इमानदार, मेहनती र नतिजामुखी वैज्ञानिकले मात्रै परिषद्को नेतृत्व गर्ने अवसर पाउने उनको भनाइ थियो।
परिषद्का कायममुकायम निर्देशक डा. श्रीमत श्रेष्ठले योजना, अनुगमन, प्रशासनिक गतिविधि, आर्थिक अनुशासन र अध्ययन–अनुसन्धानका विषयमा पाँच दिनसम्म अभिमुखीकरण सञ्चालन हुने जानकारी दिए। किसानको वर्षौंदेखिको अनुभवलाई वैज्ञानिक ज्ञानसँग जोडेर नवप्रवर्तनमा केन्द्रित हुन उनले वैज्ञानिकहरूलाई आग्रह गरे।
नार्कले नवनियुक्त ४४ वरिष्ठ वैज्ञानिक र २७ वैज्ञानिकका लागि पाँचदिने अभिमुखीकरण सुरु गरेको छ।
प्रकाशित समय : १६:०१ बजे



















