गृहपृष्ठ इरानी तेल निर्यातमा पुनः प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको इरानद्वारा कडा निन्दा
इरानी तेल निर्यातमा पुनः प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको इरानद्वारा कडा निन्दा
काठमाडौं । इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल निर्यातमा दिएको अस्थायी प्रतिबन्ध फुकुवा रद्द गर्ने निर्णयको कडा शब्दमा निन्दा गरेको छ । बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको यो कदम सन् २०२६ जुन १८ मा हस्ताक्षर गरिएको ‘शत्रुता अन्त्य गर्ने समझदारी पत्र’को बुँदा १० को ठाडो उल्लंघन भएको दाबी गरेको छ ।
इरानले यस ‘विश्वासघात’ बाट उत्पन्न हुने परिणामका लागि अमेरिकी सरकार नै जिम्मेवार हुने चेतावनी समेत दिएको छ । अमेरिकी अर्थ मन्त्रालय अन्तर्गतको ‘अफिस अफ फरेन एसेट्स कन्ट्रोल’ले मंगलबार इरानी मूलको तेल बिक्रीका लागि दिइएको अनुमति पत्र खारेज गरेको हो ।
यसअघि अमेरिकाले आगामी अगस्ट २१ सम्मका लागि इरानी तेल बिक्री गर्न छुट दिएको थियो । नयाँ व्यवस्था अनुसार, पहिले अनुमति दिइएका कारोबारहरूलाई आगामी जुलाई १७ सम्ममा पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ ।
पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन ओपेकका निर्देशक ब्राडली स्मिथद्वारा हस्ताक्षरित नयाँ इजाजतपत्र मंगलबारदेखि नै लागू भएको छ । अमेरिकाले इरानले हर्मुज जलमार्ग नजिकै तीनवटा तेल ट्याङ्करमा आक्रमण गरेको आरोप लगाउँदै यो कडा निर्णय लिएको बताएको छ ।
प्रतिबन्ध फुकुवा रद्द गरेसँगै अमेरिकी सेनाले इरानी आक्रमणको प्रतिक्रिया स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली सैन्य आक्रमण समेत गरेको छ । अमेरिकाले इरानको कथित आक्रमणको जवाफमा यी कारबाहीहरू गरिएको दाबी गरेको छ ।
इस्लामाबाद समझदारी पत्रमा हस्ताक्षर भएको २० दिन पनि नपुग्दै अमेरिकाले आफ्नो निर्णय फिर्ता लिएकोमा इरानले गम्भीर आपत्ति जनाएको छ । इरानी परराष्ट्र मन्त्रालयले अमेरिकी प्रशासनको यो कदमले उसको खराब नियत, अस्थिरता र अविश्वसनीयता लाई पुनः उजागर गरेको आरोप लगाएको छ ।
मन्त्रालयले अमेरिकाले सम्झौताका विभिन्न प्रावधानहरूको पटक–पटक उल्लंघन गरिरहेको समेत दाबी गरेको छ । इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिला हेर्ने उप–परराष्ट्रमन्त्री काजेम गरिबाबाडीले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै अमेरिकाको यो कदमले समझदारी पत्रको धारा १० को उल्लंघन गरेको र इरान विरुद्धको सैन्य अपरेसनले धारा १ र २ को गम्भीर उल्लंघन गरेको बताएका छन् ।
इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षाका लागि आवश्यक पर्ने जुनसुकै कदम चाल्ने चेतावनी दिएको छ । जुन महिनामा भएको युद्धविराम सम्झौता पछि अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध खुकुलो बनाउँदै अमेरिकी डलरमा भुक्तानी गर्ने अनुमति दिएको थियो, जुन अहिले समाप्त भएको छ । सीसीटीभी
प्रकाशित समय : १०:५२ बजे



















