गृहपृष्ठ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
जुम्ला। कृषि विकास कार्यालय जुम्लाले सिँचाइका लागि पक्की कुलो निर्माण गरेपछि यहाँका किसानलाई सहज भएको छ। कार्यालयले तिला गाउँपालिका–४ मा रु १४ लाख २८ हजार अनुदान रकम र रु तीन लाख ७२ हजार अनुदानग्राहीको सहभागितामा उपभोक्ता समितिबाट पक्की सिँचाइ कुलो निर्माण गरेको हो।
पक्की कुलो र ट्याङ्की निर्माण भएपछि यहाँका एक सयभन्दा बढी किसान लाभान्वित भएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए। उनका अनुसार तातोपानी गाउँपालिका–१ मा रु १४ लाख ४० हजार अनुदानमा पक्की कुलो निर्माण सम्पन्न भएको छ। खेतमा कृषि सिँचाइ पक्की कुलो निर्माण भएपछि उक्त वडाका करिब ४२५ जना लाभग्राहीलाई सहज भएको उनले जानकारी दिए।
यसैगरी, कार्यालयले स्याउ–ओखर विकास कार्यक्रमअन्तर्गत तातोपानी–५ स्थित ऐरेनीमा रहेको घराला तरकारी उत्पादन उद्योगलाई स्याउका बिरुवा खरिद, खाडल खन्ने, पानी तान्ने मोटर र बगैँचा घेराबारमा रु पाँच लाख ५२ हजार अनुदान प्रदान गरेको कार्यालय प्रमुख अधिकारीले बताए।
पातारासी–६ मा कार्यालयले तरकारी सिँचाइ प्रवर्द्धन कार्यक्रम, नर्सरी स्थापना तथा व्यवस्थापन र नौमुडे बहुद्देश्यीय कृषि फार्मलाई पनि अनुदान वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ।
जिल्ला समन्वय समितिका प्रमुख गैरीनन्द आचार्यले कार्यालयबाट प्राप्त अनुदानका ठूला योजनाको दीर्घकालीन रूपमा कार्यान्वयन गर्न थप जिम्मेवारीका साथ गुणस्तरीय काम गर्न आवश्यक रहेको बताए।
पक्की कुलो निर्माण भएपछि मार्सीधान लगाएको खेतबारीमा सिँचाइ गर्न सहज भएको तातोपानी गाउँपालिका–१ का स्थानीय कलबहादुर कठायतले जानकारी दिए।
चालु आवभित्र तिला, तातोपानी र पातारासी गाउँपालिकामा सम्पन्न भएका कृषि विकास कार्यालयका विभिन्न योजना तथा कार्यक्रमको सरोकारवालाबाट संयुक्त रूपमा सोमबार अनुगमन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
प्रकाशित समय : ०५:५८ बजे



















