गृहपृष्ठ उखु किसानको करिब दुई अर्ब भुक्तानी

उखु किसानको करिब दुई अर्ब भुक्तानी

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी। महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रुपैयाँ किसानले भुक्तानी पाएका छन्। जिल्लाको गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानले भुक्तानी पाएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

दुवै उद्योगमा किसानले आर्थिक वर्ष २०८२/८३ को याममा २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु बुझाएको अभिलेखले देखाएको छ। कुल उखुको मूल्य एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँमध्ये एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए।

यादवले सरकारले उखु किसानलाई उपलब्ध गराउने अनुदानबापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको बताए। जिल्ला भुक्तानी समितिले हाल २० करोड सात लाख ५९ हजार ११७ रुपैयाँ अनुदान भुक्तानीका लागि सिफारिस गरेको उनले स्पष्ट पारे।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयले यस वर्षको उखुको मूल्य र सरकारी अनुदानको सम्पूर्ण भुक्तानी असार मसान्तभित्र सम्पन्न गरिने जनाएको छ।

प्रकाशित समय : ०५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु