global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

टक्सार । सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ। प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुने गरी सुरु गरिएको यो अभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताए।

उनले भोजपुरमा पनि अभियान निरन्तर सञ्चालन भइरहेको र यसले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

महाअभियानअन्तर्गत भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्ज्याङबाट अभियान सुरु गरिएको हो। अभियानसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जिल्लाको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस रोपण अभियान पनि सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख मियाँले उल्लेख गरे। उनका अनुसार स्थानीय कालुमान गुरुङ पार्कमा लालीगुराँसका बिरुवा रोपण गरिएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले गुराँस रोपिएको हो। डिभिजन वन कार्यालयबाट उपलब्ध ५०० गुराँसका बिरुवामध्ये पहिलो चरणमा १०० बिरुवा रोपण गरिएको मियाँले जानकारी दिए।

बाँकी बिरुवा टेम्केमैयुङ गाउँपालिकासँगको सहकार्यमा सरकारको एक सय पर्यटकीय गन्तव्य सूचीमा समावेश मुन्दुम पदमार्गअन्तर्गतको चेखेवा क्षेत्रमा रोपण गरिनेछ। अभियानलाई जिल्लाका स्थानीय पालिकाले पनि सहयोग गरेका छन्।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले सरकारको निर्णयअनुसार डिभिजन वन कार्यालयले कार्यान्वयनमा ल्याएको अभियानलाई सफल बनाउन सबैको निरन्तर सहयोग रहने बताए। उनले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबैले मिलेर अभियानलाई सफल बनाउन आग्रह गरे।

नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरिसकेको छ। साथै, हालै सम्पन्न ‘सगरमाथा संवाद–२०२५’ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’ अभियानका लागि आह्वान गरेको थियो।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियान सफल बनाउनु सबैको दायित्व भएको बताए। सरकारी अभियानअन्तर्गत भोजपुरमा सञ्चालन भइरहेको वृक्षरोपण कार्यक्रम आगामी साउन १५ गतेसम्म जारी रहनेछ।

प्रकाशित समय : ०५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु