गृहपृष्ठ ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ :मन्त्री वादी
ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ :मन्त्री वादी
काठमाडौँ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
राष्ट्रियसभाको आजको बैठकमा सो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दिवा सेवा केन्द्र नभएका ५० स्थानीय तहमा साझेदारीमा नयाँ केन्द्र स्थापना गरिने जानकारी दिए ।
उनले भने “स्थानीय तहको आवश्यकता र सिफारिसका आधारमा सेवा केन्द्र स्थापनाका लागि स्थान तय गरिने छ । त्यसका लागि मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी सहजीकरण गर्ने छ ।”
आगामी आवमा भक्तपुरको सूर्यविनायकमा भवन निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उहाँले सडक बालबालिकाको विषयमा पनि मन्त्रालय संवेदनशील रहेको बताए ।
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने लक्ष्यका ‘विशेष संरक्षण निर्देशिका–२०८२’ स्वीृकत गरिएको उनले उल्लेख गरे ।
“सडकमा बालबालिका देख्ने बित्तिकै उद्धार, अस्थायी संरक्षण, उपचार, मनोसामाजिक परामर्श, परिवारको खोजी तथा पारिवारिक पुनःमिलन गराउने व्यवस्था राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह, नेपाल प्रहरी र अन्य सङ्घसंस्थाको समन्वयमा अगाडि बढाइरहेको छ”, उनले भने ।
उनले महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास, उद्यमशीलता, स्वरोजगार र प्रविधिमा पहुँच, सीप परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिएको बताए ।
मन्त्री वादीले महिलामाथि हुने हत्या तथा सबै प्रकारका हिंसाप्रति सरकार अति गम्भीर र संवेदनशील रहेको बताउँदै हिंसा प्रभावित तथा जोखिममा रहेका महिला र किशोरीको आर्थिक सशक्तीकरण कार्यक्रमलाई बजेटमा समावेश गरिएको प्रष्ट पारे ।
उनले आगामी आर्थिक वर्षमा संविधान बमोजिम महिला विरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलनका नाममा कुनै पनि यौनजन्य शोषण हुन नदिन लैङ्गिक हिंसाविरुद्धको एकीकृत कानुन तर्जुमा गरिने बताए ।
प्रकाशित समय : १६:५३ बजे



















