global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली नदीमा डुबेको बसको खोजी कार्य, सडकको स्तरोन्नतिसहित समसामयिक विषयमा ध्यानाकर्षण

कर्णाली नदीमा डुबेको बसको खोजी कार्य, सडकको स्तरोन्नतिसहित समसामयिक विषयमा ध्यानाकर्षण

कर्णाली नदीमा डुबेको बसको खोजी कार्य, सडकको स्तरोन्नतिसहित समसामयिक विषयमा ध्यानाकर्षण

नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सुर्खेतदेखि कालिकोट जाँदै गरेको यात्रुवाहक बस दैलेख सडकखण्डको कर्णाली नदीमा खसेको पाँच दिन बितिसक्दा पनि यकिन तथ्य आउन नसक्नु विडम्बना भएको बताए। “यो दुर्घटना हाम्रा लागि नयाँ होइन, दिनहुँजसो कर्णालीका सडकमा रगत बगिरहेका छन्,” उनले भने, “आज कर्णालीका सडक सडक रहेनन्। हरेकपटक यात्रा गर्दा नागरिकले आफ्नो ज्यान हत्केलामा राख्नुपर्ने अवस्था छ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की एसुदाकुमारी बरालले कर्णाली राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन्। नेपाली कांग्रेसका खड्ग शाहीले दुर्घटनाग्रस्त बसको खोजी कार्यबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कर्णाली राजमार्गमा दैनिक दुर्घटनाको सङ्ख्या बढ्दै गएको भन्दै सडकको मापदण्ड र गुणस्तरबारे छानबिन गर्न माग गरे।

राप्रपाका ज्ञानबहादुर शाहीले दैलेख खण्डमा यात्रुवाहक बस कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता भएको पाँच दिन बितिसक्दा पनि बस र यात्रु फेला नपर्नु आश्चर्यजनक भएको उल्लेख गर्दै दोषीमाथि कारबाही गर्न माग गरे।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको बस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा बिहान ११ः३० बजे दुर्घटना भई कर्णाली नदीमा खसेको थियो। बस अझै फेला नपरेको अवस्थामा कर्णाली प्रदेशका सांसदहरूले खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउन तथा कर्णाली राजमार्गको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए।

यसैगरी, रास्वपाकी अङ्किता ठाकुरले केही दिनअघि घुमफिरमा निस्केका सप्तरी राजविराजका २९ वर्षीय नवरतन साहको ललितपुरको लाकुरीभञ्ज्याङ नजिक दुर्घटनामा मृत्यु भएको जानकारी गराउँदै वर्षायाममा यात्रा गर्दा मौसम, सडकको अवस्था, सम्भावित जोखिम र परिवारको सल्लाहलाई ध्यान दिन आग्रह गरिन्।

रास्वपाकी स्मृति सेन्चुरीले असार २० गते दोलखाको बैतेश्वर गाउँपालिका–८ मा आगलागीबाट गोपाल श्रेष्ठको घर पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी गराउँदै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिन्।

एमालेका ऐनबहादुर शाहीले बझाङका विभिन्न क्षेत्रमा आगलागीबाट घर तथा पसल नष्ट भएको जानकारी दिँदै पीडितलाई राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर बयकले अछामको कमलबजार नगरपालिका–१० मा बालविकास शिक्षिका जानकीकुमारी जैशीलाई विद्यालयमा हाजिर हुन नदिई अपमान गर्ने वडाध्यक्ष र प्रधानाध्यापकलाई तत्काल कारबाही गर्न माग गरे।

नेपाली कांग्रेसकी सीता थपलियाले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले सुशासन, सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार न्यूनीकरणको प्रतिबद्धता जनाए पनि जनताले त्यसको अनुभूति गर्न नसकेको धारणा राखिन्।

नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले कूटनीतिक तथा संस्थागत पहलमार्फत फिफासँग विश्वास पुनःस्थापित गरी नेपालमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरे। सोही पार्टीका जोगकुमार बरबरिया यादवले तराई–मधेसका किसान जङ्गली निलगाईबाट पीडित भएकाले जनावर नियन्त्रण गरी राहत दिन आग्रह गरे।

राप्रपाकी खुश्बु ओलीले एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकलाई न्यूनतम मापदण्डभन्दा कम भत्ता दिइएको र लामो समय काम गर्न बाध्य पारिएको भन्दै श्रम शोषण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्।

रास्वपाकी आशिका तामाङले बर्डफ्लुका कारण पशुपन्छीपालक किसान प्रभावित भएकाले रोग नियन्त्रण र राहतको व्यवस्था गर्न अनुरोध गरिन्। सोही पार्टीका प्रकाश पाठकले झापाका विभिन्न क्षेत्रमा भइरहेका विद्युत् अवरोधतर्फ सरकारको ध्यानाकर्षण गराए।

एमालेकी साजिता खातुन सिद्धिकीले बाराको कलैया उपमहानगरपालिका–२१ की १३ वर्षीया सरिया खातुनको मृत्यु घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन्। सोही पार्टीकी गङ्गादेवी श्रेष्ठले ‘गोल्ड क्वाइन’ को अवैध नेटवर्किङ व्यवसाय तत्काल प्रतिबन्ध लगाउन माग गरिन्।

श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा नदी कटान नियन्त्रण गरी जनताको आधारभूत समस्या समाधान गर्न सरकारसँग आग्रह गरे। सोही पार्टीका आरेन राईले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूले पाँच वर्षको शुल्क अग्रिम असुलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

रास्वपाका नरेन्द्रकुमार गुप्ताले वीरगञ्जमा सडक विस्तारका नाममा २५–२५ मिटरभित्रका संरचना भत्काउँदा नागरिक समस्यामा परेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरे।

त्यसअघि बैठकको प्रारम्भमा नेपाली कम्युनिष्ट पार्टीकी बलावती शर्माले सुशासनको मुद्दा बोकेर उदाएको पार्टीले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सल्लाहकार राख्ने निर्णय गर्दा कर्मचारीतन्त्रमा त्रास छाएको बताइन्।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु