global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर। सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ । हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुरयाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरणमैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

उनका अनुसार नेपालको राष्ट्रिय फूलसमेत रहेको लालीगुराँसको संरक्षण र विस्तारले जैविक विविधतासँगै स्थानीय सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउन सहयोग पुग्नेछ ।

आइतबार आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया तथा विभिन्न सरकारी निकाय र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले संयुक्त रूपमा लालीगुराँसका बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।

डिभिजन वन कार्यालय भोजपुरले उपलब्ध गराएका ५०० वटा लालीगुराँसका बिरुवामध्ये पहिलो चरणमा १०० वटा रोपिएको कार्यालय प्रमुख खुद्रुस मियाले जानकारी दिए । उनका अनुसार बाँकी ४०० वटा बिरुवा गाउँपालिकाको समन्वय र स्थानीय समुदायको सहभागितामा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले यस्ता अभियानले स्थानीय तह, वन कार्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उल्लेख गर्दै दिगो विकासका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताए ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु