गृहपृष्ठ नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा आज कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गर्ेका हुन ।
सम्झौताअनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधिअनुसार सहभागीलाई श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक ५०० र सहभागी श्रमिकले मासिक ५०० योगदान गरी प्रतिमहिना एक हजार जम्मा गर्ने व्यवस्था गरिनेछ । यसका लागि कोषले योजना सञ्चालन गर्न आवश्यक केवाइसी फाराम तथा व्यक्तिगत विवरण कार्ड निःशुल्क उपलब्ध गराउनेछ भने गाउँपालिकाले सहभागी श्रमिक तथा उनीहरूको व्यक्तिगत खातासम्बन्धी विवरण अद्यावधिक राख्नुपर्नेछ । सहभागी श्रमिकले नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ बमोजिम ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन् ।
पेन्सन प्राप्त गरिरहेका सहभागीको मृत्यु वा हराएको, बेपत्ता भएको अवस्थामा निजको श्रीमान् वा श्रीमतीलाई प्रचलित व्यवस्थाअनुसार सहभागीले पाएसरह आजीवन पेन्सन उपलब्ध गराइनेछ । दुवैको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ । योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म रकम गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्था छ ।
प्रकाशित समय : १८:१४ बजे



















