global ime bank Long Banner Ad

गृहपृष्ठ यातायात मजदुर सङ्गठनद्वारा नयाँ बसपार्कमा सरसफाइ

यातायात मजदुर सङ्गठनद्वारा नयाँ बसपार्कमा सरसफाइ

यातायात मजदुर सङ्गठनद्वारा नयाँ बसपार्कमा सरसफाइ

काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४७औँ स्थापना दिवसको अवसर पारेर काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा सरसफाइ गरिएको छ । ‘हाम्रो बसपार्कः स्वच्छ बसपार्क’ भन्ने नाराका साथ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, लोत्से बहुउद्देश्यीय प्रालि, ट्राफिक प्रहरी र विभिन्न यातायात मजदुर सङ्गठनको सहकार्यमा नयाँ बसपार्क क्षेत्रभित्र सरसफाइ गरिएको हो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वच्छ बसपार्कले सुरक्षित र सभ्य यातायात संस्कृतिको निर्माण गर्ने बताउनुभयो । उहाँले नयाँ बसपार्कको सरसफाइ केवल एकदिने अभियानमा सीमित नभई निरन्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष सिटौलाले स्वच्छ र व्यवस्थित बसपार्कले यात्रुलाई सकारात्मक सन्देश दिनुका साथै यातायात क्षेत्रको छवि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “बसपार्क हाम्रो साझा कार्यस्थल र यात्रुको पहिलो सम्पर्क बिन्दु हो । यसको सरसफाइ र व्यवस्थापनप्रति हामी सबैको समान जिम्मेवारी छ । स्वच्छ वातावरणले मात्र सुरक्षित, सभ्य र मर्यादित यातायात संस्कृतिको निर्माण गर्न सक्छ”, उनले भने।

लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आफ्नो स्थापना दिवसको अवसर पारेर सञ्चालन गरेको सरसफाइ अभियानको प्रशंसा गरे । उनले यस्ता कार्यक्रमले श्रमिक, व्यवसायी र यात्रुबीच सहकार्य र जिम्मेवारीको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्क क्षेत्रलाई फोहरमुक्त राख्न यातायात मजदुरको महत्वपूर्ण भूमिका रहेको बताए । उनले तीव्र गतिमा सवारीसाधन नचलाउने, सवारीसाधन चलाउँदा मोबाइलको प्रयोग नगर्ने, मादकपदार्थ सेवन गरेर सवारी नचलाउने, ट्राफिक नियमकको पालना गर्नुपर्ने, यात्रुको सम्मान गर्ने सङ्कल्प आफूहरूले गर्नुपर्ने बताए ।

स्थापना दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा दुई घण्टा लगाएर नयाँ बसपार्क क्षेत्रको सरसफाइ गरिएको थियो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रमुख सल्लाहकार एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँर, महासङ्घका महासचिव डेकनाथ गौतम, ट्राफिक वृत्त नयाँ बसपार्कका प्रमुख राजेश सिलवाललगायत व्यक्तिको सहभागिता थियो ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु