global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि तथा जलस्रोतका नवप्रवर्तन विस्तार गर्न क्षमता विकास कार्यक्रम सम्पन्न

कृषि तथा जलस्रोतका नवप्रवर्तन विस्तार गर्न क्षमता विकास कार्यक्रम सम्पन्न

कृषि तथा जलस्रोतका नवप्रवर्तन विस्तार गर्न क्षमता विकास कार्यक्रम सम्पन्न

काठमाडौँ । परीक्षण तथा सफल ठहरिएका कृषि र जलसम्बन्धी नवप्रवर्तनलाई साना किसानसम्म पुर्‍याउने उद्देश्यले क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको छ। ‘सिजिआइएआर स्केलिङ हब साउथ एसिया’ले आयोजना गरेको त्रिदिवसीय कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको हो।

कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल राष्ट्र बैंक, नेपालस्थित युएई दूतावास, इसिमोडलगायत विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

‘स्केलिङ हब’ अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) नेपालमार्फत सञ्चालन हुने संस्था हो। यसको उद्देश्य दक्षिण एसियामा छरिएर रहेका नवप्रवर्तनका प्रयासलाई समन्वय गर्दै लगानीको वातावरण निर्माण गर्नु, विस्तारका लागि आवश्यक क्षमता विकास गर्नु र साझेदारी प्रवर्द्धन गर्नु रहेको छ।

इमी नेपालकी देशीय प्रतिनिधि डा. मनोहरा खड्काले नवप्रवर्तनका सफल पाइलट योजनाहरू विस्तार गर्न प्रविधिभन्दा पनि नीति, लगानी र संस्थागत संरचना प्रमुख चुनौतीका रूपमा रहेको बताइन्।

कार्यक्रममा सहभागीहरूले पाइलट परियोजना तथा नवप्रवर्तनलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्ने प्रक्रिया, चरण र आवश्यक तयारीबारे छलफल गरेका थिए। साथै पाइलट अभ्यासबाट राष्ट्रिय अवलम्बनसम्म पुग्ने मार्गबारे साझा बुझाइ विकास गरी समन्वय, साझेदारी र लगानी परिचालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

छलफलमा नेपाल, भारत, बङ्गलादेश र इथियोपियाका प्राध्यापक, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूले विद्यार्थीका नवप्रवर्तनलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी परीक्षण, सुधार र विस्तारयोग्य वातावरण बनाउनुपर्ने धारणा राखेका थिए।

दक्षिण एसियामा दशकौँदेखि कृषि तथा जलसम्बन्धी अनुसन्धान भए पनि धेरै नवप्रवर्तन अझै पाइलट चरणमै सीमित रहेको उल्लेख गरिएको थियो। वित्तीय स्रोतको अभाव, उपयुक्त नीति निर्माणको कमी, लाभग्राहीको अपनत्व नहुनु र संस्थागत समन्वय कमजोर हुनुजस्ता कारणले विस्तारमा चुनौती देखिएको सहभागीहरूले बताएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले सिँचाइ सेवाको पहुँच र प्रभावकारिता बढाउन निजी क्षेत्रसँग विभिन्न साझेदारी ढाँचामा जानुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा ‘दक्षिण एसिया हब’ले कृषि–खाद्य र जलसम्बन्धी नवप्रवर्तन विस्तार गर्न सरकार, विकास साझेदार, वित्तीय संस्था, शैक्षिक क्षेत्र र निजी क्षेत्रबीच समन्वय, सह–लगानी र क्षमता विकासमा सहयोग गर्ने उद्देश्य राखेको जानकारी दिए ।

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु