global ime bank Long Banner Ad

गृहपृष्ठ हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ ।

मेचीनगर नगरपालिका–४ मा जङ्गली हात्तीको आक्रमणमा ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि स्थानीयवासीले सुरक्षाको माग गर्दै आएका छन् ।

घटनापछि सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसद्मा समेत हात्ती नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका थिए ।

प्रस्तावित ‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई समावेश गरिने भएको छ । यसको परिचालन प्रमुख जिल्ला अधिकारीमार्फत हुने कार्ययोजना रहेको छ ।

फोर्सलाई विशेषगरी मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने योजना छ । उक्त क्षेत्र भारतको आसाम र पश्चिम बङ्गालबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने प्रमुख मार्गका रूपमा रहेको छ ।

हालसम्म फोर्समा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने यकिन भइनसकेको भए पनि करिब ५० जना सुरक्षाकर्मीको प्रस्ताव गरिएको छ । प्रारम्भिक चरणमा कम्तीमा १० जनाको टोली परिचालन गर्नुपर्ने सुझाव पनि आएको छ ।

मेचीनगरमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने खबरपछि स्थानीयवासी उत्साहित भएका छन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्ती नियन्त्रणका लागि तालिमप्राप्त सुरक्षाकर्मी खटाइनु सकारात्मक हुने बताए ।

पूर्व बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारीले भारततर्फबाट हात्ती प्रवेश रोक्ने ठोस कार्ययोजना आवश्यक रहेको बताए ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु