गृहपृष्ठ भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार
भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक सम्पर्कविहीन भएकामध्ये हालसम्म १२१ को उद्धार गरिएको छ । अझै ६२२ पर्यटक सम्पर्कविहिन रहेका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६२२ पर्यटक अझै सम्पर्कविहिन भएका जानकारी दिए ।
उनका अनुसार नेपालका १४९, भारतका ९८, अमेरिकाका ६५, युक्रेनका ६१, मलेसियाका ५१, चीनका आठ जना तथा अष्ट्रेलिया, बेलायत, क्यानडा, लाटभियालगायत ३६ देशका पर्यटकसहित ६२२ जना सम्पर्कविहीन भएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत ऐरले भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, अमेरिका, रुसका र इटालीका दुईरदुई तथा बेल्जियम, पोर्चुगल, स्पेन, बुल्गेरिया र स्वीजरल्याण्डका एकरएक जनाको उद्धार गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटनसम्बन्धी सरोकार भएका निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।
प्रकाशित समय : २२:०५ बजे


















