global ime bank Long Banner Ad

गृहपृष्ठ ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो ।

गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकारबाट रु ३१ लाख ७२ हजार र गाउँपालिकाबाट रु ३१ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । यसबाहेक कामदारका लागि औजार उपकरण, सुरक्षा सामग्री खरिद तथा ढुवानी व्यवस्थापनका लागि गाउँपालिकाले थप रु १८ लाख लगानी गरेको छ ।

कार्यक्रममार्फत गाउँपालिकाका सबै छ वडामा गरी ८५ जना स्थानीय नागरिकलाई १०० दिनसम्म रोजगारी प्रदान गरिएको छ । विशेषगरी रोजगारीको अभाव झेलिरहेका विपन्न तथा श्रमिक वर्गलाई लक्षित गरी काम दिइएको हो ।

उहाँका अनुसार दैनिक ज्याला र७५४ प्रदान गरिएको छ ।

हालसम्म २५ किलोमिटर नाली निर्माण, पाँच किलोमिटर सडक सोलिङ, २० किलोमिटर क्षेत्रमा झाडी फाँड्ने तथा सरसफाइको काम सम्पन्न भएको छ । साथै १०० मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कार्यक्रमले स्थानीयको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको र श्रममा आधारित विकास अवधारणालाई अघि बढाउन सहयोग पुगेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार सडक पूर्वाधारलाई वर्षभर सञ्चालनयोग्य बनाउने लक्ष्यसहित स्तरोन्नतिमा जोड दिइएको छ । वर्षायाममा अवरुद्ध हुने सडक क्रमशः सुधार हुँदै गएको र स्थानीय श्रम प्रयोग हुँदा लागत पनि घटेको उनले बताए ।

गाउँपालिका अध्यक्ष किरण राईले जनसहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै रोजगारीसँग जोडेर कार्यक्रम अघि बढाइएको बताए ।

स्थानीयवासी ध्रुव राईले आफ्नै ठाउँमा रोजगार पाउँदा आयआर्जनको अवसर मिलेको बताए ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता श्रममुखी कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण पूर्वाधार सुदृढ बनाउने जनाएको छ ।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु