गृहपृष्ठ आईएमई लाइफको साख बढ्यो, क्रेडिट रेटिङमा महत्वपूर्ण उकालो
आईएमई लाइफको साख बढ्यो, क्रेडिट रेटिङमा महत्वपूर्ण उकालो
काठमाडौं । जीवन बीमा क्षेत्रमा सक्रिय आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो वित्तीय क्षमता र संस्थागत विश्वसनीयतामा उल्लेखनीय सुधार गर्दै क्रेडिट रेटिङ स्तरोन्नति हासिल गरेको छ। रेटिङ वृद्धि भएसँगै कम्पनीलाई वित्तीय रूपमा अझ बलियो र भरोसायोग्य संस्थाका रूपमा हेरिन थालेको छ।
CARE Ratings Nepal Limited ले आईएमई लाइफको Issuer Rating लाई CARE–NP BBB+ बाट बढाएर CARE–NP A– स्तरमा पुर्याएको हो। कम्पनीका अनुसार वित्तीय अवस्था सुदृढ बन्दै जानु, जोखिम व्यवस्थापन प्रणाली प्रभावकारी हुनु, व्यवसाय विस्तारमा सकारात्मक प्रगति हुनु तथा सुशासनप्रतिको प्रतिबद्धताका कारण रेटिङमा सुधार आएको हो।
नयाँ रेटिङले कम्पनीसँग आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ। साथै अघिल्लो मूल्यांकनको तुलनामा कम्पनीको सञ्चालन क्षमता र वित्तीय स्थायित्व थप मजबुत बनेको मूल्यांकन गरिएको छ।
कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई बीमित, लगानीकर्ता, अभिकर्ता तथा अन्य सरोकारवालाले देखाएको विश्वासको प्रतिफलका रूपमा लिएको जनाएको छ। आगामी दिनमा सेवा गुणस्तर, नवप्रवर्तन, संस्थागत सुशासन र दीर्घकालीन वित्तीय सुदृढतालाई थप प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
‘Ensuring Future’ नारासहित सेवा दिँदै आएको आईएमई लाइफले देशभर शाखा सञ्जाल, डिजिटल सेवा र ग्राहककेन्द्रित कार्यक्रममार्फत आफ्नो पहुँच विस्तार गरिरहेको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा र वित्तीय साक्षरताका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित समय : १०:०९ बजे



















