गृहपृष्ठ रास्वपा सिरहा अधिवेशनमा झडप, नेतृत्व चयन प्रक्रिया मंगलबारसम्म स्थगित
रास्वपा सिरहा अधिवेशनमा झडप, नेतृत्व चयन प्रक्रिया मंगलबारसम्म स्थगित
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। सोमबार सिरहाको जिरोमाइलस्थित अधिवेशनस्थलमा भएको विवाद कुटाकुटमा परिणत हुँदा केही व्यक्ति घाइते भएका छन्।
झडपमा र्यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत घाइते भएको जनाइएको छ। जिल्ला कार्यसमितिको नेतृत्व कसले पाउने भन्ने विषयमा लामो समयदेखि देखिँदै आएको मतभेद उत्कर्षमा पुगेपछि अधिवेशन स्थल तनावपूर्ण बनेको थियो।
अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका प्रमुख आकांक्षी रहेका छन्। रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्ने अडान राख्दै आएका छन् भने सुभाष यादव र हरि मैनालीले लोकतान्त्रिक प्रक्रियाअन्तर्गत निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन्।
विवादका कारण अधिवेशन प्रभावित भएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। आयोगले मंगलबार बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा परिस्थितिलाई सामान्य बनाउँदै निर्धारित प्रक्रियाअनुसार निर्वाचन सम्पन्न गरिने उल्लेख गरिएको छ।
अधिवेशनस्थलमा उत्पन्न विवादपछि सुरक्षा सतर्कता बढाइएको छ भने पार्टी नेतृत्वले सहमतिमार्फत समस्या समाधान गर्ने प्रयास जारी राखिएको बताइएको छ।
प्रकाशित समय : १९:४७ बजे



















