गृहपृष्ठ सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न
सल्यान । कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले कम्पनीले गाउँ–गाउँ तथा कृषकको घरदैलोमै पुगेर बीमासम्बन्धी जनचेतना फैलाउने अभियान सञ्चालन गर्दै आएको र त्यसको सकारात्मक प्रभाव देखिन थालेको र कृषि तथा पशुपन्छी बीमाले कृषकलाई जोखिम व्यवस्थापन तथा आर्थिक सुरक्षामा महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्दै कृषकलाई बीमाको पहुँचमा ल्याउन कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागचौर–७ का वडा अध्यक्ष प्रेमबहादुर डाँगीले कार्यक्रममा प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्याई कृषकलाई बीमाप्रति सचेत बनाउन आग्रह गरे । उनले प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य जोखिमका कारण हुने क्षतिको अवस्थामा बीमाले राहत प्रदान गर्ने भएकाले यसको आवश्यकता बढ्दै गएको बताए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाका प्रावधान, बीमा दाबी प्रक्रिया, आवश्यक कागजात तथा बीमाबाट प्राप्त हुने लाभबारे विस्तृत जानकारी दिइएको थियो । साथै खाद्यबाली, तरकारीबाली, फलफूल तथा अन्य कृषि उत्पादनसम्बन्धी बीमाका विषयमा समेत छलफल गरिएको थियो ।
सहभागीहरूलाई कृषि तथा पशुपन्छी बीमा प्रणाली सम्बन्धी जानकारी दिइएको थियो । बीमा जारी गर्ने प्रक्रियादेखि दाबी भुक्तानीसम्मका सबै प्रक्रिया अनलाइन माध्यमबाट हुने व्यवस्था रहेको बताइएको छ, जसले बीमा प्रक्रियालाई थप पारदर्शी, सरल र प्रभावकारी बनाएको छ ।
शाखा प्रमुख बोहराले नेपाल सरकारले कृषि बीमामा उपलब्ध गराउँदै आएको ८० प्रतिशत अनुदानको व्यवस्था यथावत् रहेको उल्लेख गर्दै कृषकहरूलाई यसको अधिकतम लाभ लिन आग्रह गरे । साथै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा बागचौर नगरपालिका–७ का विभिन्न टोलबाट ७८ जना कृषक तथा सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमलाई उपयोगी तथा फलदायी भएको प्रतिक्रिया दिएका थिए ।
एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि बीमा प्रवर्द्धनका लागि देशका विभिन्न जिल्ला तथा पालिकाहरूमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित समय : १३:५८ बजे

















