global ime bank Long Banner Ad

गृहपृष्ठ तरबुजाभन्दा यसको दानामा बढी पाइन्छ पोषक तत्व, यस्ता छन् स्वास्थ्य लाभ

तरबुजाभन्दा यसको दानामा बढी पाइन्छ पोषक तत्व, यस्ता छन् स्वास्थ्य लाभ

तरबुजाभन्दा यसको दानामा बढी पाइन्छ पोषक तत्व, यस्ता छन् स्वास्थ्य लाभ

काठमाडौं । गर्मीयाममा तरबुजा धेरैको रोजाइमा पर्ने फल हो। रसिलो तथा स्वादिलो तरबुजाले शरीरलाई शीतलता प्रदान गर्नुका साथै पानीको कमी हुनबाट पनि जोगाउँछ। तर अधिकांश मानिसले तरबुजा खाइसकेपछि यसको दाना फाल्ने गर्छन्।

स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययनका अनुसार तरबुजाको दानामा शरीरका लागि आवश्यक धेरै पोषक तत्व पाइन्छन्। म्याग्नेसियम, आइरन, जिंक, प्रोटिन, फाइबर तथा स्वस्थ बोसोयुक्त यी दानाले स्वास्थ्यमा विभिन्न फाइदा पुर्‍याउन सक्छन्।

पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोगी

तरबुजाको दानामा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले यसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। कब्जियतको समस्या भएका व्यक्तिका लागि यसको सेवन लाभदायक मानिन्छ। सुकेको दाना पिसेर धुलो बनाई मनतातो पानीसँग सेवन गर्दा पाचन प्रक्रियामा सुधार आउन सक्छ।

मधुमेह नियन्त्रणमा सहयोग

तरबुजाको दानामा रहेको म्याग्नेसियमले रगतमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्ने विश्वास गरिन्छ। केही अनुसन्धानले यसले इन्सुलिन संवेदनशीलता बढाउन सहयोग गर्न सक्ने देखाएका छन्। दानालाई पानीमा उमालेर बनाइएको चिया पनि सेवन गर्न सकिन्छ।

मुटुको स्वास्थ्यका लागि लाभदायक

तरबुजाको दानामा पाइने ओमेगा–६ फ्याटी एसिड, म्याग्नेसियम तथा अन्य पोषक तत्वले मुटुको स्वास्थ्यलाई सहयोग पुर्‍याउन सक्छन्। यसले कोलेस्ट्रोलको मात्रा सन्तुलित राख्न र हृदयसम्बन्धी समस्याको जोखिम कम गर्न मद्दत गर्ने मान्यता छ।

छाला र कपालका लागि उपयोगी

जिंक, आइरन र प्रोटिनले भरिपूर्ण यी दानाले कपाललाई बलियो बनाउन तथा छालाको स्वास्थ्य सुधार गर्न सहयोग पुर्‍याउँछन्। साथै, यसमा रहेका एन्टिअक्सिडेन्ट तत्वले छालालाई फ्री रेडिकलबाट जोगाउन मद्दत गर्छन्। तरबुजाको दानाबाट बनेको तेल पनि बजारमा उपलब्ध छ, जसलाई छाला तथा कपालको हेरचाहमा प्रयोग गर्न सकिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी

तरबुजाको दानामा आइरन, म्याग्नेसियम र फस्फोरसजस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन मद्दत गर्छन्। दानालाई सफा गरी सुकाएर भुटेर खान सकिन्छ।

यसका अतिरिक्त, तरबुजाको दानालाई स्मूदी, सलाद वा अन्य परिकारमा मिसाएर पनि सेवन गर्न सकिन्छ। पाउडर बनाएर दूध वा पानीमा मिसाई पिउनु पनि यसको उपयोग गर्ने अर्को सजिलो तरिका हो।

नोट: स्वास्थ्यसम्बन्धी कुनै पनि उपाय अपनाउनुअघि चिकित्सक वा पोषणविद्को सल्लाह लिनु उपयुक्त हुन्छ। (एजेन्सी)

प्रकाशित समय : ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु