गृहपृष्ठ सबैको सहकार्यमा दुग्ध क्षेत्रको दिगो विकास गर्नुपर्छ : कृषिमन्त्री
सबैको सहकार्यमा दुग्ध क्षेत्रको दिगो विकास गर्नुपर्छ : कृषिमन्त्री
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् ।
‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दुग्ध क्षेत्रको दिगो विकास भएमा पशुपालक किसान लाभान्वित हुने भएकाले सबैको सहकार्य र ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिइन् ।
दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्र, पोषण सुरक्षा, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेको मन्त्री चौधरीले बताइन् । उनका अनुसार हाल देशभरबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध औपचारिक रूपमा स्कलन भइरहेको छ । यसबाट दैनिक करिब साढे सात करोड नगद प्रवाह भएको छ । साना किसान, महिला, युवा तथा सहकारीमार्फत सङ्गठित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुगेको उनले बताइन् ।
दूध, दही, घ्यू, मही, पनिरलगायत दुग्धजन्य पदार्थले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले व्यावसायिक पशुपालनमार्फत युवालाई आकर्षित गर्न सके दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बन्न सक्ने बताइन् ।
दुग्ध क्षेत्रले उत्पादन लागत वृद्धि, कम उत्पादकत्व, भौगोलिक कठिनाइ, पशुरोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण, भुक्तानी ढिलाइ तथा गुणस्तर नियन्त्रणजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले यी समस्याको समाधानका लागि सरकार सक्रिय रहेको बताइन् । कार्याक्रममा किसान, सहकारी, पत्रकारलाई सम्मानसमेत गरिएको थियो ।
प्रकाशित समय : २०:२१ बजे



















