गृहपृष्ठ समृद्धिको प्रमुख आधार कृषि हो, किसान राष्ट्रका गहना हुन् : राष्ट्रपति
समृद्धिको प्रमुख आधार कृषि हो, किसान राष्ट्रका गहना हुन् : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘किसानको मुस्कानमा राष्ट्रको खुशी लुकेको हुन्छ । अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ । तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ’ उनले भने ।
मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
‘यसको लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ,’ राष्ट्रपति पौडेलले भने ।
उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायहरू एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औल्याए ।
‘युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसका लागि कृषकको सम्मान, कृषि पेशाको संरक्षण तथा आधुनिकिकरण आजको आवश्यकता हो,’ राष्ट्रपति पौडेलले भने ।
राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका सम्वाहक कृषकहरूलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाई थियो । साथै, कृृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेशालाई सम्मानित पेशाकारुपमा स्थापित गर्न योगदान पु¥याएको उनले बताए ।
राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि नै भएको र कृषि, जलस्रोत पर्यटन, पूर्वाधार, सूचनाप्रविधि र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार रहेको उनले बताए । उनले सोह्रौ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर वनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने बताए ।
सो कार्यक्रमको अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही दुई लाख रूपैयाँ, प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सम्मानित कृषकहरुलाई बधाई दिंदै कृषिमैत्री बजेट र योजना अघि बढाउन प्रतिवद्ध रहेको बताइन् ।
प्रकाशित समय : १६:२७ बजे

















