गृहपृष्ठ तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको उपाधि उप्रेती र चौधरीलाई
तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको उपाधि उप्रेती र चौधरीलाई
काठमाडौँ । पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पाको स्मृतिमा आयोजित तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले प्राप्त गरेको छ ।
त्रिहत्तरौँ अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले आयोजना गरेको पुरुष तथा महिला खुला आरोहण प्रतियोगितामा पुरुषतर्फ उप्रेती र महिलातर्फ चौधरी प्रथम भएको हो ।
प्रथम भएसँगै ५० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । पुरुषतर्फ दोस्रो हुनेमा विदेशी नागरिक मिर्को लेरोस र तेस्रो हुनेमा तेन्जिङ बर्टिन राई हुनुहुन्छ । दोस्रो हुनेलाई ३० हजार नगद, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै, महिलातर्फ दोस्रो हुनेमा याङकिला शेर्पा र तेस्रोमा पञ्चामाया तामाङ हुनुहुन्छ । दोस्रो हुनेलाई ३० हजार नगद, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उक्त प्रतियोगितामा विजयी खेलाडीलाई प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य शेर्पाले आरोहणको काम चुनौतीपूर्ण रहेको भन्दै उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीलाई बधाई ज्ञापन गरे ।
प्रतियोगिताको फाइनल चरणमा छ पुरुष र छ महिला खेलाडी पुगेको थियो । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङनोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको बताए । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पालगायतको सहभागिता थियो ।
प्रकाशित समय : १९:५२ बजे

















