गृहपृष्ठ कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
काठमाडौँ । कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ ।
भारतको बुक प्रेसले हालै प्रकाशन गरेको उक्त कविता सङ्ग्रह बजारमा आएको हो । ‘एमेजोन अनलाइन पोर्टल’मा राखिएको विकका १०८ पृष्ठको उक्त सङ्ग्रहमा ६२ वटा कविता छन् ।
गुलरियाका विकले लामो समयदेखि अङ्ग्रेजीमा कविता रचना गर्दै आएका छन् । अङ्ग्रेजी भाषामा तुलनात्मक रूपमा कम मात्रामा रचना कोरिने गरिन्छ । उनका कविता र लेखहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्ग्रह, पत्रपत्रिका र ‘अनलाइन’ माध्यमहरूमा प्रकाशित भइसकेका छन् । ‘प्यान्डामिक पोयट्री’, ‘हाइपरपोयम’, र ड्युयट्स अफ प्लुरल डुओ—लर्स’ नामक अन्तरराष्ट्रिय कविता सङ्ग्रहमा उनले लेखेका कविताहरू पनि समावेश गरिएका छन् ।
विक कवितालाई मौन आवाजहरूको प्रतिबिम्बका रूपमा लिने गरेको बताउँछन् । त्यसैले उनले आफ्न सिर्जनामा मौन र उपेक्षितहरूको आवाज उजागर गर्ने प्रयत्न गरेको सुनाए । “दलित समुदायले भोग्नुपरेको सामाजिक यथार्थ यस पुस्तकमा चित्रित गरिएको छ र यसको समग्र सन्देश पुनर्जागरण तथा रूपान्तरण हो”, विकले भने ।
कवि विकले आफ्ना रचनामा राज्यले दलित समुदायमाथि थोपरेको विभेद र त्यसको चपेटामा उक्त समुदायले भोग्नु परेको परिणामलाई मानवीय संवेदनाको दृष्टि राखेर कविता रचेको बताए । सरकारले नीति र संरचना बनाएर दलितमाथि अपमाजनक व्यवहार गरेकामा कवितामार्फत उनले आलोचना गरेका छन् ।
उनी भन्छन्, “मेरो कविताले सीमान्तकृत समुदायको पीडा उजागर गर्नाका साथै सामाजिक न्यायको पक्षमा समेत वकालत गरेको छ ।” उनले समाजको बेथितिलाई रचनात्मक ढङ्गले निरुत्साहित गर्न कविता सुन्दर माध्यम हुने गरेको धारणा राखे । रासस
प्रकाशित समय : १३:५७ बजे



















